बागमती

प्रदेशमै पहिलो पटक ट्राफिक लाइट

बिक्रम खड्का |
जेठ ११, २०७८ मंगलबार १३:४३ बजे

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले 'सिक्सलेन' सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकै पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विश्वकर्माले जानकारी दिए ।

नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने नगरपालिकाले जनाएको छ ।


ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगरप्रमुख बासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सिक्सलेन सडकका अन्य चोकहरूमा समेत विस्तार गरिने बताए । ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उनले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व सबैको रहेको बताए ।

त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताए । ट्राफिक प्रहरीसंगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमै नयाँ सन्देश दिएको बताउँदै उनले यो दुर्घटना न्यूनीकरणको लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे । प्रदेश ट्राफिक प्रहरीले बुटवल-भैरहवा सिक्सलेन सडकलाई अन्तर्राष्ट्रिय ट्राफिक नियमको परिपालना गर्ने/गराउने सडकको रुपमा लिएको बताउँदै उनले ट्राफिक लाइट व्यवस्थापनले त्यसलाई सहज गराउने स्पष्ट पारे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक  मनोज  के.सी.ले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्याउने बताए । ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त भएपछि ट्राफिक व्यवस्थापनमा प्रहरीलाई यसलाई सहयोग पुर्याउने उनको भनाइ छ । 

नगर उपप्रमुख जागेश्वरी चौधरीले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताइन् । 
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, प्रवक्ता सुरेन्द्र श्री, योजना प्रमुख प्रदीप वन लगायतले ट्राफिक लाइटको औचित्य र सडक अनुशासनको बारेमा धारणा राखेका थिए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x