बागमती

पुस्तक प्रदर्शनी यात्रा २०८० सुरु

इकागज |
असोज ९, २०८० मंगलबार २०:५७ बजे

मकवानपुर - हेटौडामा रहेको किताबघरले पुस्तक प्रदर्शनी यात्रा २०८० सुरु गरेको छ । हेटौडा ५ भैरबरोडमा रहेको किताबघरले मंगलबारबाट पुस्तक प्रदर्शनी यात्रा सुरु गरेको हो ।

मंगलबार हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको किताबघरका सञ्चालक छवि अनित्यले जानकारी दिए ।


सञ्चालक छविका अनुसार असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकामा सञ्चालित सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालय समेटिने छन् । बालबालिकामा पठन संस्कृतिको विकासको लागि किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको संचालक छवि बताउँछन् ।

‘नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका ४ सय बढी शीर्षकका बालपुस्तक प्रदर्शनीमा उपलब्ध हुनेछ’ उनले भने ‘प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् ।’ मंगलबार कमाने एकेडेमीबाट सुरु भएको प्रदर्शनी यात्रा बुधबार कमानेकै माउन्ट एभरेष्ट बोर्डिङ र शुक्रबार हेटौडा १८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा हुनेछ ।

यस्तै, असोज १६ गते जनप्रिय मावि हेटौडा १६, हटिया, १९ गते रेड रोज इङलिस स्कुल, २३ गते प्रगति मावि हेटौडा ९ लामसुरे, २६ गते बालजागृति इङलिस स्कुल हेटौडा २ र ३० गते ज्ञानदीप शिक्षा (जीएस) निकेतन हेटौडा ५ मा पुस्तक प्रदर्शनी गरिने उनले बताए ।
 


Author

थप समाचार
x