बागमती

प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक समितिमा पठाइयो, अर्को बैठक अनिश्चित

इकागज |
असोज १७, २०८० बुधबार २१:६ बजे

मकवानपुर - बागमती प्रदेश सभाको बुधबार बसेको बैठकले एक विधेयक समितिमा दफावार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको छ । बुधबारको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा दफावार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको हो ।

असोज १४ गते सदनमा पेश भएको उक्त विधेयक संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले वातावरण समितिमा पठाइयोस् भनि प्रस्ताव पेश गरेका थिए । सदनमा मन्त्री महर्जनले पेश गरेको सो विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाउने प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेश गरेका थिए । सभामुखले निर्णयार्थ पेश गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको थियो । अब उद्योग पर्यटन तथा वातावरण समितिमा छलफल भई संशोधन भए सोसहित पारित गरी प्रतिवेदन सहित पुनः सदनमा पेश गरिने व्यवस्था छ ।


यसैबीच बागमती प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको प्रदेशसभामा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । यस अघी अवरुद्ध हुदै आएको प्रदेशसभा बैठक बुधबार सञ्चालन भएको हो ।

प्रदेशसभाको बैठकमा विवादित विधेयक पेश गर्ने तयारी भएपछि सोमबारदेखि प्रमुख प्रतिपक्षको अवरोधले सदन चल्न सकेको थिएन । प्रदेश प्रमुख कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको चिठ्ठा विधेयक सदनमा पेश गर्ने तयारी सोमबारको बैठकमा भएको थियो । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध जनाउँदै बैठक सञ्चालनमा अवरोध गरेका थिए ।

एमालेको अवरोधका कारण सोमबार र मंगलबार बैठक संचालन हुन सकेन भने बुधबार प्रदेशसभा सचिवालयले चिठ्ठा विधेयक कार्यसूचीबाट हटाएसँगै बैठक संचालन भएको थियो । छोटो समय संचालन भएको प्रदेश सभाको बुधबारको बैठक पछि सभामुखले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।


Author

थप समाचार
x