बागमती

सामाजिक सुरक्षा भत्ता टोलमै

इकागज |
कात्तिक १, २०८० बुधबार २०:१८ बजे

मकवानपुर - राक्सिराङ्ग गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता घरघरैमा पुगेर वितरण थालिएको छ । दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका राजकुमार मल्लले दसैंको आउँदै गर्दा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर बाढ्न गएका छन् ।

बैंकका कर्मचारी समेतको टोलीले पालिकाको गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा स्थानीय ज्येष्ठ नागरिकले ठूलो राहत महसुर गरेका छन् भने पालिका अध्यक्ष तथा कर्मचारीलाई ज्येष्ठ नागरिकलगायतका स्थानीयले स्याबासी दिएका छन् । 


विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैंकमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महङ्गो भाडा तिरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतालाई चिर्दै गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर पुगेको पालिका अध्यक्ष मल्लले बताए ।  सोमबार पालिका अध्यक्ष मल्लसहितको टोली वडा नम्बर ९ का  जनतालाई भत्ता वितरण गर्न पुगेको थियो । राक्सिराङ ९ नम्बर वडाको अठारे ह्याक्ती बस्ने ९१ बर्षिया बृद्ध गौरी सुनारलाई जेष्ठ नागरिक भत्ताको ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । वडा कार्यालयमा बैंकका कर्मचारीसहित पुगेका अध्यक्ष मल्लको टोलीले सोमबार करिब १ सय २० जना ज्येष्ठ नागरिक तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताइएको छ ।

सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै प्राप्त गरेपछि अधिकांश वृद्धवृद्धाहरुले आउँदो दिनहरुमा पनि यसैगरी प्राप्त गर्न गाउँपालिका अध्यक्षलाई अनुरोध गरे । वडा अध्यक्ष रामकुमार बाल्पा थिङले वर्षाका कारण बाटो बिग्रिएको र घण्टौं हिडेर गाउँपालिका कार्यालयसम्म पुगेर भत्ता लिन असहज भएकाले वडाबाटै भत्ता वितरण गरिएको बताए ।

गाउँपालिकाले राक्सिराङ ४ मा रहेको एक परिवारलाई दसैं मान्नको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । खाद्यान्न प्याकेजमा चामल, तेल, दाल र नुन रहेको थियो भने अध्यक्ष मल्लले नगद सहयोगसमेत गरेका थिए । अभियानकै क्रममा स्थानीय युवाहरुलाई खेलकुदका सामग्री समेत हस्तान्तरण गरिएको थियो । पालिकाले यस अघि वडा नम्बर ६, ७ र ८ मा असोज २५ गते नै भत्ता वितरण गरिसकेको छ । 


Author

थप समाचार
x