बागमती

दशैंको मौका छोपेर बढी भाडा लिएका सवारीलाई कारबाही

इकागज |
कात्तिक ११, २०८० शनिबार ११:५० बजे

मकवानपुर । दशैंकाे समयमा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारबाही गरेकाे छ । दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारबाही गरेको हाे ।

यात्रुबाट सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेर बढी लिएकाे भाडा रकम यात्रुलाई फिर्ता गरेकाे छ । दशैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडाबापत २० हजार २५० रुपैयाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए ।


बढी भाडा लिने र ट्राफिक नियम पालना नगर्नेहरुलाई जनही १ हजारदेखि ५ हजारसम्म जरिवाना गरिएको समेत आचार्यले बताए । ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १ सय ३७ सवारी र यात्रुकाे टिकट नकाट्ने ३१ सुमोलाई कारबाही गरिएको छ ।

हेटौँडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिए पनि यात्रुसँग ८ सयदेखि १२ सयसम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५५०/१५० सम्म रकम फिर्ता गराइएको उनले जानकारी दिए । सर्लाही–काठमाडौं १२ सय भाडादर तोकिएको भए पनि दुई हजारसम्म लिएकोमा प्रतिव्यक्ति आठ सय रकम फिर्ता गराइएकाे छ । 

त्यस्तै, सिमरा–काठमाडौं सुमो भाडादर ८५० तोकिएको भए पनि एक हजारसम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौं ८५० भाडादर तोकिएको भए पनि १५ सय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।


Author

थप समाचार
x