बागमती

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती सरकारले सहयाेग गर्ने

इकागज |
कात्तिक २१, २०८० मंगलबार १९:३९ बजे

मकवानपुर- चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले सहयाेग गर्ने भएकाे छ । बागमती प्रदेश सरकारले सहयाेग गर्ने भएपछि रंगशाला निर्माणकाे कार्य अघि बढ्ने भएको हाे । 

मंगलबार बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्ने सम्झौता गरेसँगै निर्माण हुने भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकार र भरतपुर महानगरपालिकाले तत्काल निर्माणका लागि लगानी गर्ने भएको हो । 


बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार अहिले पहिलो चरणमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमति भएको छ । यसका लागि ७५ करोड रुपैयाँ खर्च लाग्ने प्राविधिक मूल्याङ्कन भएको उनले जानकारी दिए । बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत रकम लगानी गर्ने सहमति भएको छ । 

रंगशाला प्रस्तावित क्षमता ३० हजार दर्शकको रहेकाे भए पनि तत्काल पहिलो चरणमा १० हजार दर्शक क्षमताकाे बनाउन सुरु गरिने र बाँकी पछिल्लो चरणमा निर्माण गर्दै जाने सदस्य सचिव भण्डारीले बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशाला निर्माण कार्य ऋण लागेकाे भएको भन्दै रोकिएको थियो । सदस्य सचिव भण्डारीका अनुसार ३ अर्ब रुपैयाँमा बन्ने रंगशालामा अहिलेसम्म ५७ करोड रुपैयाँ बराबरकाे काम भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्दा हालसम्म करिब १२ करोड ऋण भएको प्राविधिक मूल्याङ्कन रहेको बताइएकाे छ ।

मंगलबार प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको निर्णय प्रक्रियामा सहभागिता कर्मचारी र प्राविधिकलगायतकाे उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x