बागमती

ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले सम्हालिन् जिम्मेवारी

इकागज |
बैशाख २६, २०८१ बुधबार ९:१४ बजे

ललितपुर- ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन् । प्रधानमन्त्री कार्यालयबाट सरुवा भएकी उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मंगलबारदेखि सम्हालेकी हुन् ।

यसअघि वीरेन्द्रदेव भारती महानगरको प्रमुख प्रशासकीय अधिकृतमा थिए । भारती भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी सरुवा भएका छन् । ललितपुर महानगरले प्रमुख प्रशासकीय अधिकृत रेखा दासको स्वागत र भारतीको बिदाई गर्न आयोजना गरेको कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र महानगरका अन्य कर्मचारी सहयोगी भएको बताए ।


‘हामी मिलनसार छौं, तर्सिन पर्दैन, नहुने कुरा नल्याउनुहोस्, हुने कुरा ल्याउनुहोस्’ उनले भने । रेखादास ललितपुर महानगरको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत भएको बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘उहाँ स्मार्ट हुनुहुन्छ, डाइनामिक हुनुहुन्छ, महानगरको विकास गर्न उहाँको कामले फलदायी रिजल्ट निकाल्छ । ’

उप्रमुख मञ्जली शाक्य बज्राचार्यले संघीय तहमा काम गरेको अनुभवलाई स्थानीय तहमा प्रयोग गर्दा महानगरको विकासमा सहयोग पुग्ने बताइन् । कार्यान्वयनको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेका कर्मचारीको हुने भएको उनले बताइन् । छिटो छिटो प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा काम प्रभावित हुने उपप्रमुख मञ्जलीले बताइन् ।‘कति समय बस्ने हो, त्यो पोलिसी नै बनाउनु पर्छ’ उनले भनिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले कानुनले दिएको अधिकार प्रयोग गरी इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । निर्वतमान प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गरेको बताए । जहाँ काम गर्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राख्ने उनले बताए । 

कार्यक्रममा कानुन महाशाखामा प्रमुख खगेन्द्र वस्तीले निवर्तमान प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीलाई प्राथमिकतामा राखेको बताए । ‘उहाँका कारण कुनै पनि दिन फाइल अड्किएन । काम रोकिएन ’ उनले भने । कार्यक्रममा शाखा, महाशाखा प्रमुख लगायत अन्य कर्मचारीको उपस्थित रहेको थियो ।
 


Author

थप समाचार
x