बागमती

राक्सिराङमा गरिबीले ७६६ बालबालिकाले छाडे बीचमै पढाई

इकागज |
बैशाख २६, २०८१ बुधबार ९:३४ बजे

मकवानपुर- मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाई छाड्नु परेको छ । राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाईबीचमै छाडेका हुन् ।

यस्तै राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाई छाडेका छन् । उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ ।


विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिबीकै कारण पढाईबीचमै छाड्नु परेको छ । विद्यालयले भर्ना अभियान चलाइरहेको भएपनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाई निरन्तरता गर्न नसकेको खुलेको छ ।

राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्छिन् 'बाबुआमाले जुत्ता विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय जान गइनँ ।' उनका आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भएपनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ ।

यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नराम्रो असर गरिरहेको छ । सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरेपनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन् ।


Author

थप समाचार
x