बागमती

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइँदै

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १७:१ बजे

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएकाे छ । पालिकाले बिहीबार काेषमा आबद्ध हुन आवेदन माग गरेकाे छ । 

गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन हुने भएकाले उक्त योजनामा सहभागी हुन इच्छुक व्यक्तिलाई आवेदन दिन पालिकाले सूचनामार्फत भनेको हो । योजनामा सहभागी हुन इच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र आवेदन दर्ता गर्न सक्ने सूचनामा उल्लेख छ ।


बागमती प्रदेशमै पहिलो पटक अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानमा भीमफेदी गाउँपालिका जुटेको हो । नेपालमै स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भीमफेदी दोस्रो स्थानीय तह हो ।

भीमफेदी गाउँपालिकाको गाउँ सभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिताका लागि भीमफेदी गाउँपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोषबीच सम्झौता भए बमोजिम कार्य अघि बढेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले योजनामा सहभागी हुन पूरा गर्नुपर्ने विभिन्न आवश्यक मापदण्ड सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिलाई जानकारी समेत गराएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस योजनामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका डकर्मी, सिकर्मी, लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुंगा फुटाएर जीविका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामीलगायत अन्य श्रमिक तथा स्वरोजगार व्यक्तिहरू यस योजनामा सहभागी हुनसक्ने गाउँपालिका अध्यक्ष हिदम लामा बताउँछन् ।

अध्यक्ष लामाले गाउँपालिकाको साझेदारी लगानीमा सामाजिक सुरक्षा कोषमा सहभागी भई आफ्नो भविष्य सुरक्षित गर्नका लागि पालिकाभित्र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई आग्रह गरेका छन् ।  योजनामा आबद्ध हुन चाहने अनौपचारिक क्षेत्रका श्रमिकहरूले सम्पर्क नम्बरसहितको हस्त लिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, सम्बन्धित वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनि गरेको सिफारिस पत्र, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणा पत्र, चेकको प्रतिलिपि बुझाउनुपर्ने पालिकाले सूचनामा भनेको छ ।

यस्तै, स्वरोजगार व्यक्तिका लागि सम्पर्क नम्बरसहितको हस्त लिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, पेसा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि/दर्ता नभएको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, प्यान वा कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणा पत्र, चेकको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।


Author

थप समाचार
x