बागमती

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी

इकागज |
मंसिर २७, २०८० बुधबार १७:१५ बजे

फाइल फोटो

काठमाडौँ -  काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । 

काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्खा प्रतिबन्ध गरिएको जानकारी दिएको हो । 


पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए । 

उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । उनले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताए । उनले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने बताए । उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिबन्ध लगाएको बताए । उनले सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताए । उनले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्युनिकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको बताए । 

काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रवार महानगर दिवस बनाउने भएको छ ।   


Author

थप समाचार
x