बागमती

सिन्धु उद्योग वाणिज्य संघमा तिमल्सिना, बस्नेत र खत्री भिड्‌दै

निरोज चौलागाईं |
चैत ६, २०८० मंगलबार १०:४९ बजे

सिन्धुपाल्चोक- आगामी चैत १० गते हुने व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औँ अधिवेशन नजिकिएसँगै नेतृत्वका लागी रस्साकस्सी बढ्दै गएको छ । सोमबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदको लागि आगामी १० गते निर्वाचन हुँदैछ ।  

सोमबार अध्यक्ष पदको लागि शम्भुबहादुर तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्‌वारी दिएका तीनै जना मित्र राष्ट्र चीनबाट सामान आयात गर्ने व्यवसायी हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विदुर पराजुलीले उम्मेदवारी दिएका छन् । सोमबार प्रथम उपाध्यक्षको पदमा उम्मेदवारी दिएका भेषबहादुर बस्नेत (राजेन्द्र) निर्विरोध निर्वाचित भएका छन् ।


त्यस्तै तृतीय उपाध्यक्ष, महासचिव सह कोषाध्यक्ष र दुई सदस्यमा आफ्नो मनोनयन दर्ता गराएका उम्मेदवार भने सर्वसम्मत निर्वाचित भएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकमा अध्यक्ष होमबहादुर बस्नेत राजकुमारले बताए । 

'हामीले सबै पदको लागि सर्वसम्मत गर्न खोजेका थियौँ । उम्मेदवारका आकांक्षीले नमान्दा निर्वाचनमा जानू परेको हो' बस्‍नेतले भने 'यो निजी  तथा व्यवसायीहरूको संस्था हो । हामीले सके सर्वसम्मत नत्र लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने प्रणाली अपनाएका छौँ ।'

सोमबार उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरूले मतदातामा आफ्नो उपस्थितिलाई तिब्रता दिँदै आएका छन् । तर मतदाताहरूमा भने स-साना खुद्रा व्यवसायीलाई समेट्न नसकेको आरोप लगाउन थालेका छन् । 

निर्वाचनमा मात्रै भोट हाल्नको लागि प्यान दर्ताको कागजात मागेर लैजाने र व्यवसायीहरू आफैँले नवीकरण गरिदिने प्रचलन बढ्‌दो छ । त्यसैले संघमा समान्य व्यवसायको मागलाई आवाज उठाउन नसक्ने  मतदाताहरूको बुझाइ छ । सोमबार उम्मेदवारी दिएकै तीनै जना उम्मेदवारले मतदाता माझ आ-आफ्नो एजेन्डा लिएर जान थालेका छन् । सोमबारदेखि निर्वाचनमा रस्साकस्सी बढ्दै गएपछि व्यवसायी र मतदाताको बाक्लो भेटघाट हुन थालेको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल प्रधान र सूर्य कार्कीबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै द्धितिय  उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र इन्द्रबहादुर राउतले उम्मेदवारी दिएका छन् । सचिवमा तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठ निर्वाचनमा होमिएका छन् । त्यस्तै १५ सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् ।

'संघको स्थापना भएदेखि  अहिलेसम्म ३० वर्षको अन्तरालमा दुई पटक मात्रै निर्वाचन भएको छ' बस्‍नेतले भने 'नत्र सर्वसम्मतबाट नेतृत्व चयन हुँदै आएको छ ।' संस्थालाई  सेवामूलक र सामाजिक कार्यप्रति उत्तरदायी बनाउँदै लगेको बस्नेतले बताए ।

अध्यक्षको उम्मेदवार दिएका तिमल्सिना हाल महासचिव छन् । त्यस्तै खत्री मानार्थ उपाध्यक्ष भइसकेका व्यक्ति हुन भने बस्नेत  संघको ८ औँ अधिवेशनमा पुर्वअध्यक्ष कमलकुमार श्रेष्ठसँग अध्यक्ष पदमा पराजित भएका हुन् । निर्वाचनमा २४५४ जनाले मतदान गर्न पाउने छन् ।


Author

थप समाचार
x