समाज

इलाम-२ मा ५८ र बझाङमा ५० प्रतिशत मतदान

इकागज |
बैशाख १५, २०८१ शनिबार १९:५२ बजे

काठमाडौँ- आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ ।

यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए । 


संवत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो । 

आयोगले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलाम-२ मा मतपेटिका मतगणनास्थल इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा राती ११ बजेभित्र र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने आयोगले जनाएको छ । 


Author

थप समाचार
x