गण्डकी

पोखरा महानगरको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित

धनबहादुर गुरुङ |
पुस २६, २०७९ मंगलबार २१:८ बजे

पोखरा- पोखरा महानगरको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका कार्यपालिका सदस्यले सभा बहिष्कार गरेपछि पोखरा महानगरको १२ औं नगरसभा स्थगित भएको हो ।

मंगलबार डाकिएको नगर सभामा जातीय विभेदको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई कारबाही गर्नुपर्ने आवाज उठेपछि विवाद सुरु भएको थियो । पोखरा–२४ का वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भरतबहादुर अधिकारीमाथि जातीय विभेदको आरोप छ । उनले आफैँ प्रहरीकहाँ आत्मसमर्पण गरिसकेका छन् । तर, एमालेका दलित समुदायका जनप्रतिनिधिले नगर सभाको कार्यसूचीमै नभएको विषय झिकेपछि लफडा सुरु भएको हो ।


उपमेयर मञ्जुदेवी गुरुङले बोल्न समय दिएपछि कार्यपालिका सदस्य एमालेका दीपक घिमिरे विश्वकर्मा मञ्चमा पुगेर आरोपितलाई कारबाहीको माग गरेका थिए । उनीहरूको हातमा कालोपट्टी थियो । विश्वकर्माले कारबाही माग गर्दै मेयरसमक्ष ध्यानाकर्षण पत्र पनि बुझाए । 

त्यसलगत्तै कांग्रेसका जनप्रतिनिधि एमालेका जनप्रतिनिधिले कार्यसूचीमा नभएको विषय झिकेको भन्दै बाहिरियो । मेयर धनराज आचार्यले कांग्रेसको दलका नेतालाई बोल्न समय दिँदा पनि उनीहरू हलभित्र गएनन् । कांग्रेस जनप्रतिनिधि उपस्थित नभए पनि प्रमुख अतिथि मुख्यमन्त्री खगराज अधिकारीलाई बोल्न समय दिएपछि एक घण्टाका लागि सभा स्थगित गरियो ।

एक घण्टापछि सुरु भएको सभामा बोल्न समय माग्दै कांग्रेस दल नेता दिवसमा प्रधानाङ्गले एमालेले मुख्यमन्त्रीलाई कालोपट्टी देखाएर अपमान गरेको बताए । ‘राजनैतिक रूपमा मत भिन्नता होला तर हामीले हाम्रै जिल्लाको मुख्यमन्त्री पाएका छौं उनै मुख्यमन्त्री प्रमुख अतिथिका रहेको कार्यक्रममा कालो पट्टी देखाएर उहाँको अपमान गरिएको छ । यसको हामी घार अपत्ति र खेद व्यक्त गर्न चाहान्छौं,’ उनले भने ।

उनले सभामा बोल्ने सदस्यलाई कारबाहीको माग गर्दै सभा बहिष्कार गर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन गरे अनि निस्किए ।

त्यसपछि एमाले दल नेता राधिका शाही योगीले बोल्न समय मागिन् । उनले दलको निर्णय नभई असन्तुष्टि भएका विषयमा व्यक्तिगत रूपमा नगर सभाको ध्यानाकर्षण गराइएको बताइन् । दुवै दलका नेताले आ–आफ्नो कुरा राखेपछि मेयर धनराज आचार्यले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि नगरसभा स्थगित भएको घोषणा गरे । 


Author

थप समाचार
x