गण्डकी

पोखरामा कृषि सामग्री प्रदर्शनी मेला

इकागज |
फागुन १७, २०७९ बुधबार २१:२२ बजे

पोखरा- पोखरा महानगरपालिका-१३ मा कृषि सामग्री प्रदर्शनी मेला भएको छ । ‘हाम्रो अभियान, स्थानीय उत्पादन प्रवर्द्धन’ नारासहित बुधबार कृषि सामग्री मेला प्रदर्शनी भएको हो ।

कृषि सञ्जाल र पोखरा महानगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा भएको मेलामा विभिन्न कृषक समूहबाट उत्पादित वस्तु प्रदर्शनमा राखिएको पोखरा-१३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार वडा परिसरमा बिहान १० देखि ३ बजेसम्म मेला चलेको थियो ।


कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उनले वडाभित्र बाँझा जग्गामा खेती गर्दै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु जरुरी रहेको उनले बताए ।

‘कृषि मेलामा जैविक विविधता प्रदर्शनी, रैथाने बाली परिकार र बाली उपचार शिविर सञ्चालन भयो,’ उनले भने, ‘कृषकलाई बालीमा स्थानीय उत्पादन कम्पोष्ट मल प्रयोग गर्न पनि प्रोत्साहन गरियो ।’

प्रदर्शनीमा पुतली तरुल, कान्छी चैतेजस्ता लोपोन्मुख प्रजातिका कृषिजन्य उत्पादनसहितका सामग्री राखिएको थियो । मेलाकै अवसरमा रैथाने बालीका परिकारको प्रदर्शनीसहित माटो परीक्षण तथा बाली उपचार शिविर पनि आयोजना गरिएको थियो ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषि क्षेत्रमा गरिने मेला तथा प्रदर्शनीले कृषकको क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताए । खाली जग्गा राख्नुभन्दा त्यसमा उत्पादनका लागि अर्कालाई खेती गर्न दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

पोखरा महानगरपालिका–१३ कृषि सञ्जालका अध्यक्ष नरेन्द्र अधिकारीले कृषक उत्पादनको मूल्य नपाउँदा समस्यामा पर्ने गरेको बताए । वडाभित्रका ४० प्रतिशत जग्गा अझै बाँझो रहेको बताउँदै उनले कृषिमा आकर्षण हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x