गण्डकी

ठडियो माछापुच्छ्रेमा सिंहदरबार

धनबहादुर गुरुङ |
असार २६, २०८० मंगलबार २०:३२ बजे

पोखरा- सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउन २०७२ को संविधानले तीन तहका सरकारको व्यवस्था गर्यो । स्थानीय तहमा सिंहदरबारका सबै अधिकार पुगेको नेताहरूले भाषण छाँट्न थालेको पनि ८ वर्ष बितिसक्यो । सिंहदरबारको अधिकार गाउँगाउँ पुर्याउने अभियान केवल नारामा मात्रै सीमित हुने आशंका चिर्न राजनैतिक दलहरू र जनप्रतिधिहरू लागिपरिरहेका छन् । प्रशासनिक भवन साँघुरो भएर गाउँको सिंहदरबारले केही भाडामा त केही छुट्टाछुट्टै ठाउँबाट सेवा दिइरहेका छन् ।

देशकै ठूलो पोखरा महानगरपालिकाको हालत पनि उस्तै छ । प्रशासनिक भवन र महाशाखा अलगअलग ठाउँमा छन् । पोखरा महानगरसहित ५ पालिका रहेको कास्कीमा गाउँपालिकाहरूले साविकका गाविस भवनलाई आफ्नो कार्यालय बनाएका छन् । यहाँका पाँचै पालिकाहरूमा ७२ वडा छन् । वडा कार्यालय पनि धेरैजसो पुरानै गाउँ विकास समिति (गाविस) का भवनबाट सञ्चालन भइरहेका छन् ।


कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भने यही अवस्थाबाट माथि उठ्ने प्रयास थालेको छ । यस पालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । वडा ४, लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनीमा ६ करोड ६२ लाख रुपैयाँको लागतमा भवन निर्माणको अन्तिम चरणमा छ । भवनअन्तर्गत त्यहाँ तीन तलामा साना ठूला ३६ कोठा बनाइएको छ भने करिब तीन सय जना अट्ने सेमिनार हलसमेत निर्माण गरिएको छ । भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोषबाट २ करोड ५० लाख, प्रदेश सरकारको ५० लाख र बाँकी गाउँपालिकाले लगानी गरेको छ ।

निर्माण कम्पनी नयाँबाटो जिएस् इन्जिनियरिङ जेभीले लिफ्टसहितको उक्त भवन साढे २ वर्षको अन्तरालमा सक्ने भएको हो । उक्त भवन २०७७ भदौ १५ गते डेढ वर्षभित्र सक्ने गरी सम्झौता भएको थियो । तर, विभिन्न कारणले निर्माणमा समय लागेको निर्माण कम्पनीका प्रतिनिधि डम्बर ढकालले जानकारी दिए । सुरुमा जग्गा व्यवस्थापन, त्यसपछि निर्माणमा प्रयोग गरिएको काठको विवाद, त्यसपछि अख्तियारमा समेत उजुरी परेका कारण ढिला भएको उनको भनाई थियो । निर्माणमा अब अन्तिम भुक्तानी लिएर हस्तान्तरण गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि ढकालले बताए ।

चाँडै नै नयाँ भवनबाट जनतालाई सेवा दिने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । ‘चालु वर्षको अन्तिम गाउँसभा नयाँ भवनको सभाहलमै गरौं भन्ने थियो, केही प्राविधिक कारणवश अन्तिममा आएर गर्न मिलेन, अब चाँडै नै पालिका सार्ने तयारी छ,’ उनले भनिन् । 


Author

थप समाचार
x