गण्डकी

अनुदानको 'अ' पनि थाहा नपाएका ६३ वर्षदेखिका भेडापालक रनबहादुर

इकागज |
कात्तिक १६, २०८० बिहीबार १३:२ बजे

ढोरपाटन (बागलुङ)- शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोसजाँगर भने कत्ति पनि घटेको देखिन्‍न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भेटिन्छन्, रनबहादुर सिर्पाली ।

गोठ वरपर एक सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् । युवावस्थामा दुई सय ५० सय भेडाबाख्रा पालेको सुनाउने उनी अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउँछन् । बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका–५ का उनले व्यावसायिक रुपमा भेडापालन गन थालेको ६३ वर्ष भयो । नौ वर्षकै उमेरदेखि गोठालो गर्न थालेका सिर्पाली अहिले ७२ वर्ष पूरा भए ।


एउटै पेशामा यति लामो समयसम्म निरन्तरता दिई राख्ने सायदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्ष मात्रै जागिरमा रहन्छन् । तर सिर्पाली दशकौँसम्म एउटै पेशामा अनवरत रुपमा लागि राखेका छन् । बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुने उनी दसैँ अगाडि मात्रै बुकीबाट झरेका थिए । विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालोमा लाग्‍नु परेको उनले गुनासो गरे । 

आफ्नो बाल्यकालमा अहिलेको जस्तो पढ्ने लेख्‍ने चलन नभएको हुँदा आफूले पढ्न नपाएको उनी बताउँछन् । अहिले तमानखोला दुर्गम नै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन् । अग्ला भिर पाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा हजारौँ पशु पाल्न सहज हुने उनको भनाइ छ । 

अझै १० वर्ष एक/डेढ सय भेडा पाल्न सक्ने उनी बताउँछन् । गाउँमा पाका पूर्खादेखि खेतीपाती गर्ने र पशुपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेशा अंगाल्दै आएको उनले बताए । पछिल्लो समय नयाँपुस्ताले भेडापालनमा चासो नदिँदा परम्परागत पेशा हराउन थालेको उनी बताउँछन् ।

चार वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो सङ्ख्या निकै न्यून भएको सिर्पालीले बताए । समय परिवर्तनसँगै गाउँघरमा पेशा पनि फेरिँदै गएको हुँदा व्यापार व्यवसाय गर्ने बढ्न थालेको उनले बताए ।

'सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँ ठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडि देख्‍न सहर जानुपर्थ्यो, अहिले गाउँमै गाडि गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडि देख्‍न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नून, चामल बटौली (बुटवल) पुगेर ल्याउनुपर्थ्यो, आजभोलि घरमै पाइन्छ,' उनले भने 'हामी सानो-सानो हुँदा गाउँभरिका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तीमा पनि एक सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवा बजार जान थाले, विदेश जान थाले त्यही भएर गोठालो गर्ने पनि घटे ।'

सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रङ्गा पाठापाठी र माहु भेडाबाख्रा छन् । हुलमूलमा हराउने हुँदा ती सबैका सिङमा रातो, हरियोलगायतका रंग लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेँसी झर्ने गर्दा घाँस र दाना पुर्‍याउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उनी बताउँछन् ।

पाँच भाइबहिनी छोराछोरी यही पेशाबाटै हुर्काएको र पढाएको जनाउँदै तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासोनै नदिएको उनी बताउँछन् । उनले भेडा र गोठको सुरक्षाका लागि दुई कुकुरसमेत पालेका छन् । दुई कुकुरलाई गोठको दुई पट्टी बाँध्नु भएको छ । यसले गर्दा गोठ सुरक्षित हुने उनी बताउँछन् । पहिले–पहिले गोठ बलाङ, मान्द्रो (बाँसको चोयाबाट बनेको सामान)ले बनाउने गरेको सुनाउँदै अहिले त्रिपाल र टेन्टले छाउन थालेको उनको भनाइ छ । 

स्थानीय, प्रदेश र संघीय सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर ती कार्यक्रमले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुनसकेको छैन । उनी भन्छन्  ' कृषि अनुदान भन्‍ने मलाई थाहा छैन ।' रासस


Author

थप समाचार
x