गण्डकी

पोखरा विमानस्थलमा बर्ड हाजार्ड !

निर्माण ७० प्रतिशत पूरा

अनिष भट्टराई |
माघ २, २०७७ शुक्रबार ६:२९ बजे

पोखरा : निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना बाँकी छ । निर्माणस्थल नजिकको ल्यान्डफिल साइटमाथि चिलजस्ता चरा उडिरहन्छन् । महानगरले ल्यान्डफिल हटाउने गरी वातावरणीय प्रभाव मूल्यांकन भएपनि अहिलेसम्म त्यहाँबाट ल्यान्डफिल हटेको छैन ।

विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मी ल्यान्डफिलका कारण ‘बर्ड हाजार्ड’ हुने बताउँछन् । ल्यान्डफिल साइट हालसम्म पनि स्थानान्तरण गर्ने प्रक्रिया सुरु नभएकाले उडान सञ्चालनमा ‘हाजार्ड’ हुने उनको भनाइ छ ।


तर महानगर भने अहिलेसम्म ल्यान्डफिल स्थानान्तरण गर्ने ठाउँ पनि निक्र्यौल गर्न सकेको छैन । महानगर प्रमुख मानबहादुर जिसी भने ल्यान्डफिलले विमान उडान–अवतरणमा कुनै समस्या नहुने बताउँछन् । अहिलेसम्म २÷३ ठाउँमा ल्यान्डफिल सार्न सकिने सम्भावना भए पनि स्थानीयले आन्दोलन गर्न सक्ने भन्दै ठाउँ ‘फिक्स’ नभएको प्रमुख जिसीले बताए । ‘विमान ल्यान्डफिलले नउड्ने भन्ने हुँदैन, त्यतिबेलासम्म सर्छ,’ उनले भने, ‘ठाउँ २÷३ ठाउँमा हेरेका छौं, तर आन्दोलन हुन सक्ने भएकाले पक्का नभएको हो ।’

विमानस्थल निर्माणको अर्को समस्या हो, आयल निगमले आयल डिपो निर्माणमा तगारुकता नदेखाउनु । आयोजना प्रमुख विनश मुनकर्मीले निगमलाई २ वर्षदेखि पत्राचार गरे पनि अहिलेसम्म काम नथालेको बताए । ‘आयल डिपोका लागि जग्गा पनि छुट्याएका छौं, २ वर्षभो पत्राचार गर्न थालेको अहिलेसम्म काम थाल्नुभएको छैन,’ उनले भने । आयल डिपो निर्माण समयसम्म नबने बाहिरबाट डिपोको व्यवस्थापन गर्ने प्रस्ताव निगमले राखेको मुनकर्मीले बताए ।

नेपाल आयल निगम पोखराका प्रमुख परशुराम अधिकारी भने अहिले आफूहरु टेन्डर आह्वान गर्ने प्रक्रियामा रहेको बताए । पहिला वार्षिकोत्सवको काममा व्यवस्थापन टोली खटिएकाले त्यस काममा ढिलाइ भएको उनी बताउँछन् । ‘हप्ता १० दिनमा टेन्डर निस्कन्छ अनि काम सुरु गरिहाल्छौं,’ उनले भने ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । ५०.२७ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ । आयोजना प्रमुख मुनकर्मीका अनुसार अहिलेसम्म रनवे, आइसोलेटेड पार्किङ, फ्लड लाइट, स्ल्याब कल्भर्ट, कार पार्किङ, बाटो, टर्मिनल एरिया वरपरको बाटो निर्माण लगायत काम सम्पन्न भइसकेका छन् । विमानास्थल पर्खाल घेराबन्दीको काम सुरु भएको छ । विद्युत जडानको कामसँगै एअर प्रेसर ट्याङ्क जडान गर्ने काम भइरहेका छन् ।

मुनकर्मीका अनुसार २ महिनाभित्र विमानास्थलमा आवश्यक सबै सामान आइसक्नेछन् । अहिलेसम्म आयोजनाको क्षेत्रफल ३८९९ रोपनी छ । जग्गा अधिग्रहणका लागि ३.५५ अर्ब रुपैयाँ खर्च भएको मुनकर्मीले जानकारी दिए ।

विमानस्थल निर्माणको ठेक्का पाएको चाइना सियमसि इन्जिनियरिङ लिमिटेडले अहिले ३३० जनालाई काममा खटाएको छ । १५० चिनियाँ र १८० नेपाली श्रमिक विमानस्थल निर्माणमा खटिएका छन् ।

मन्त्री ढकाल भन्छन्— ‘मेरै भविष्य थाहा छैन, विमानस्थलको कसरी भनूँ?’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल विमानस्थल अवलोकनका लागि बिहीबार पोखरा आए । आयोजना प्रमुखसँग बिफ्रिङ लिएपछि सुरुमै उनले भने, ‘देश बुझ्न काठमाडौं, भैरहवा र पोखरा बुझ्नुपर्ने भएर म पोखरा आएँ, निर्देशन दिन होइन अवलोकनका लागि आएको हुँ ।’

यसअघि कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालय सम्हालेका भानुभक्त ढकालले पर्यटन मन्त्रीको जिम्मेवारी पहिलोपटक पाएका हुन् । उनले पोखरा विमानस्थलका बारेमा धेरै जानकारी नभएकाले बिफ्रिङ लिएको बताए । आयोजना यशासक्य छिटो सक्न सरकारले पहल गर्ने उनले बताए । काम ढिला हुनुका कारण सुन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने वाचा गरे ।

अहिले पोखरामा अर्को विमानस्थल पोखरा विमानस्थल सञ्चालनमा छ । नयाँ निर्माणपछि त्यो पुरानोको भविष्य के हुन्छ ? भन्ने आफूले अहिलेनै भन्न नसक्ने उनको तर्क थियो । ‘मेरै भविष्य भोलि के हुन्छ थाहा छैन, विमानस्थलको भविष्य कसरी भनुँ ?’ उनले भने ।

बिफ्रिङपछि उनी पत्रकारहरुसँग कुरा गर्दा प्रश्नबाट पन्छिन खोजेको देखिन्थ्यो । रुट पर्मिटको काम के भएको छ त भन्ने प्रश्नमा उनले ‘नादान’ जवाफ दिए । ‘रुट पर्मिट नपाई उड्दैन होला के रे, पाएर नै त काम भएको होला नि,’ उनले भने । आफू अहिलेसम्मको भौतिक प्रगतिबाट सन्तोष पाएनपाएको भन्ने स्थितिमा नरहेको उनको जिकिर थियो । ‘भात खाएको हो र सन्तोष हुन÷नहुन ? काम भइरहेकै छ, काम सम्पन्न भएपछि सन्तुष्ट हुने हो,’ उनले सुनाए ।

निर्माण अविधिमै सकिनेमा तपाईं कति विश्वस्त हुनुहुन्छ ? उनले उल्टै प्रश्न गरे, ‘तपाईं कति विश्वस्त हुनुहुन्छ ? कुन दिन कहिले उड्ला भनेर सोध्नुहोला, मैले कसरी भन्ने ?’


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x