गण्डकी

बिजुलीको तार र सोलार नजिकै हुँदा जोखिम

अनिष भट्टराई |
फागुन २०, २०७७ बिहीबार १४:२२ बजे

सोमबार दिउँसो पृथ्वीचोकको सोलार प्यानलमा लागेको आगो । तस्बिरः जीवन सुवेदी

पोखरा : पोखरासहित नेपालका सबै सहरमा बिजुलीका पोल र सोलार बत्ती नजिकै राखिएका छन् । सडक छेउका बिजुली पोलमा तारैतारको गुजुल्टो देखिन्छ । 
भद्रगोल बिजुली तार, भौतिक संरचना नै छुनेगरी सोलार बत्ती राखिएका छन् । बिजुलीमा प्रयोग हुने करेन्ट र सोलारमा प्रयोग हुने करेन्ट फरकफरक हुँदा कहिलेकाहीँ दुर्घटना पनि हुने गरेका छन् । 

यसको पछिल्लो उदाहरण हो, सोमबार पोखराको पृथ्वीचोकमा भएको आगलागी । भलै, सोमबार पोखरामा ठूलो आगलागी भएन, तर सोलारको पाता चाहि जल्यो । 
दिउँसो साढे ३ बजे गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पोखरा रंगशलातिर लागे । उनलाई पच्छ्याउँदै पोखराका पत्रकार रंगशाला जाँदै थिए । ट्राफिकले उनीहरूलाई बिचमै रोक्यो । अनि भन्यो, ‘अगाडि आगो लागेको छ, रोक्किनुहोस् ।’ 


मिडियाकर्मी जीवन सुवेदीलाई आश्चर्य लाग्यो । कतै प्रधानमन्त्रीको पोखरा भ्रमण बिथोल्न आगो लगाइएछ कि ? सुवेदीको कौतुहलता बढ्दो थियो । केही अगाडि आगोको मुस्लो उठेको देखिहाले । 

तार भूमिगत बनाउने महानगरको योजनै भूमिगत भएजस्तो छ, के भइरहेको छ कसैलाई थाहा छैन ।

आगोको मुस्लो पृथ्वीचोकको बजारबाटै आएको देखिन्थ्यो । एकछिन घोरिएर हेरे अनि थाहा पाए– सोलार पोलमा आगलागी भएछ । ‘हामीलाई ट्राफिकले रोक्यो, एकछिन अल्मलियौं, पछि हेरेको पोलमा आगलागी भएको देखें,’ सुवेदीले भने । 
सुवेदीको हातमै क्यामेरा थियो, फोटो भिडिओ कैद गर्न भ्याइहाले । आगलागी भएको तल फेन्सी पसल छन् । आगोको लप्को झरिरहँदा त्यहाँका मानिस भागाभाग गरे । 
सोलार पोलनजिकै घर भएका व्यक्तिले सोलारको त्यो आगो निभाउन छतबाट आगो निभाउने ग्याँस (फायर एक्स्टिङग्युसर) फालिरहे । प्रहरीको टोलीले केहीबेरमा आगो नियन्त्रणमा लियो । १०–१५ मिनेटको त्यो समय पृथ्वीचोकका व्यापारी र बासिन्दाका लागि एककिसिमको आतंकै फैलिएको सुवेदीको अनुभव छ । 
आगलागी भएको पोलनजिकै बिजुली पोल छ । बिजुलीको हाइटेन्सन लाइननजिकैको सोलारमा आगलागी भएको थियो । इलेक्ट्रिकल एन्ड कम्युनिकेसन इन्जिनियर आनन्द भट्टराईका अनुसार सोलारमा डिसी चार्ज प्रयोग गरिन्छ भने बिजुलीका तारले भने एसी करेन्ट प्रवाह गर्छन् । यस कारण २ विपरीत चार्जका तार नजिकै राख्दा आगलागी भएको हुनसक्ने इन्जिनियर भट्टराईको बुझाइ छ ।  

बिजुलीको तार नै सर्ट भएर सोलारमा सरेको पनि हुन सक्ने भट्टराई बताउँछन् । ‘इलेक्ट्रिकल फिल्ड नजिक हुँदा मेटालिक प्लेटमा आगो सरेको हुन सक्छ,’ उनले भने । सोलारमा प्रयोग गरिने ब्याट्रीका कारण डिसी चार्जलाई फरक पर्दैन । तर घरमा राखिने सोलारमा बिजुली लाइनमार्फत चार्ज गर्न खोज्यो भने आगलागी हुने भट्टराईले बताए । 

सोलार आफैमा सानो भोल्टेजको बिजुली हो । त्यो भोल्टेजले आगलागी तथा दुर्घटना कमै हुने गरेको पाइन्छ । तर सोलार सानो भोल्टेजको भन्दैमा कमसल खालको ब्याट्री प्रयोग गर्नाले पनि आगलागी हुन सक्नेमा इन्जिनियर भट्टराई सचेत गराउँछन् । 

२०७५ असार ३२ गते पोखराको गणेशटोलमा बिजुलीको पोलमा एकाएक आगलागी भयो । बिहान पौने ८ बजे लागेको आगो एक घन्टा लगाएर निभाउनुपरेको थियो । वडाध्यक्ष शंकर बास्तोलाले त्यतिबेला अव्यवस्थित तारहरूको गुजुल्टो आगलागीको कारण रहेको प्रतिक्रिया दिएका थिए । 

२०७४ साउन २६ गते रानीपौवामा बिजुलीको तार चुँडिएर गुडिरहेको मोटरसाइकलमा खस्दा चालक विष्णु बस्ताकोटीको मृत्यु भयो । सोही वर्ष चैत ९ गते अमरसिंहचोकैमा बिजुलीको तारमा ट्र्याक्टर झुन्डियो । बसको छतमा राखेर लैजाँदै गर्दा बिजुलीको तारमा ट्र्याक्टर अड्किएको थियो । आगलागी भने हुन पाएन ।  
पोलमा तारहरूको गुजुल्टो एउटा समस्या हो भने बीच सडकमै पोल हुनु अर्काे समस्या हो । २०७५ मै अमरसिंहचोक सडकको पोलमा मोटरसाइकल ठोक्किँदा अनुप र सोनित गुरुङले ज्यान गुमाएका थिए । 

सडक पोल र तारहरूले समस्या चुल्याँउदै गएपछि सोही वर्ष पोखरा लेखनाथ महानगरपालिकाले पहिलो वर्षमा ६ किलोमिटर क्षेत्रको तार भूमिगत गर्ने निर्णय नगरसभाबाटै पारित गर्यो‍ । त्यसका लागि बजेट पनि विनियोजन गरेको महानगरले योजनालाई भने कार्यान्वयन गर्न सकेन । मेयर जिसीले २०७५ मंसिर २७ गते बिपी चोकबाट तार व्यवस्थित गर्ने अभियान नै सुरु गरेका थिए । तर उनी निर्वाचित भएको ३ वर्ष कटिसक्दा पनि उनको योजना भने अगाडि बढ्न सकेको छैन । पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकामा बिजुली तार व्यवस्थापन गर्ने नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङले समेत घोषणा गरेका थिए ।  

अहिले पनि पोखरामा सडक दायाँबायाँका पोलहरूमा बिजुली, टिभी र इन्टरनेटका तारहरूको गुजुल्टो छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली भने चालु आर्थिक वर्षको अन्त्यबाट काम सुरु हुने आँकलन गर्छन् । अहिले उक्त योजनाका लागि डिपिआर निर्माण भइरहेको उनको भनाइ छ । 
यसका लागि नेपाल टेलिकमले केही दिन अगाडि टेन्डर आह्वान गरेको नेपालीले बताए । अहिले एकातर्फको मात्र विस्थापित गर्न सके पनि काम तीव्र रुपमा अगाडि जान सक्ने नेपालीको जिकिर छ । तर केबल नेटवर्क व्यवसायी तार भूमिगत पार्न तयार देखिएका छैनन् । महानगर प्रवक्ता नेपाली लागत बढ्ने भएपछि सेवाग्राहीसँग केबल व्यावसायीले चर्को मूल्य लिन चाहेको बताउँछन् ।


Author

थप समाचार
x