लुम्बिनी

सांसद चौधरीद्वारा राष्ट्रिय भूमि आयोगको केन्द्रीय टोलीसँग छलफल

इकागज |
मंसिर १८, २०७९ आइतबार १५:१५ बजे

बुटवल- संघीय सांसद विनोद चौधरीले राष्ट्रिय भूमि आयोगको केन्द्रीय टोलीसँग छलफल अघि बढाएका छन् ।

नवलपरासीको परासीमा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलासहितका अन्य सरोकारवालाहरूसँग छलफल गरी करिब तीन महिनाभित्र पश्चिम नवलपरासीका अव्यवस्थित तथा सुकुम्बासी समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराउने उद्देश्यले छलफल अघि बढाइएको हो । सांसद चौधरीले हालसम्म अव्यवस्थित तथा सुकुम्बासी समुदायलाई जग्गा धनी पुर्जा प्राप्तिका लागि अघि बढाइएको प्रकृया, देखिएको समस्या र समाधानका दीर्घकालीन उपायबारे सरोकारवालासँग छलफल गरिएको प्रतिक्रिया दिएका छन् ।


सांसद चौधरीले आफू संघीय सांसद निर्वाचित भएको करिब एक सय दिनभित्रै जनतालाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने र वर्षौँदेखि अलपत्र परेको अव्यवस्थित तथा सुकुम्बासी समुदायको दीर्घकालीन रूपमा  समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेकाे बताए  ।

छलफलमा अव्यवस्थित तथा सुकुम्बासी समुदायलाई तत्काल पहिलो चरणमा जग्गा धनी पुर्जाको प्रारम्भिक रूप निस्सा उपलब्ध गराउने र एक दिनभित्र नियमानुसार जग्गा धनी पुर्जा उपलब्ध गराउने सहमति भएको थियो ।

यस्तै छलफलमा राष्ट्रिय भूमि आयोग नवलपरासीका संयोजक देवराज भण्डारीसहितका जिल्ला प्रतिनिधिहरूको टोली, बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता तथा सरावल गाउँपालिका प्रमुख साथै नापी कार्यालयलगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

उक्त छलफलमा पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, प्रदेश सभा सदस्यद्वय देवकरणप्रसाद कलवार, बिश्वप्रेम पाठक, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

पश्चिम नवलपरासीमा करिब १० हजार अव्यवस्थित तथा सुकुम्बासी समुदाय रहेका छन् ।


Author

थप समाचार
x