लुम्बिनी

कोभिड र कुर्सीले आक्रान्त लुम्बिनी

जहाँ १६ दिनमै फेरिए ४ स्वास्थ्यमन्त्री, फेरिएन संक्रमणको सास्ती

बिक्रम खड्का |
बैशाख २२, २०७८ बुधबार १७:५८ बजे

बुटवल : नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र गतिमा फैलिरहेको छ । संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडकपेटीमा मृत्युवरण गरिरहेका छन् । संक्रमणको चेन ब्रेक गर्न विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । जनताले उपचार नपाएर सडकपेटीमै ज्यान गुमाइरहँदा सत्ता सञ्चालकहरू भने लाज पचाएर ‘नाङ्गो नाच’ देखाइरहेका छन् । केन्द्रदेखि प्रदेशसम्मका सरकार सत्ता जोगाउने ध्याउन्नमा छन् । स्वास्थ्य संकटको समयमा लुम्बिनी प्रदेशमा १६ दिनमा ४ वटा स्वास्थ्यमन्त्री फेरिएका छन् । उनीहरू कार्य सम्पादनमा गर्न नसकेर फेरिएका होइनन् । सत्ता जोगाउने प्रयासमा एकपछि अर्कोगरी स्वास्थ्यमन्त्री फेरिएका हुन् ।

वैशाख ६ गतेसम्म सामाजिक विकास मन्त्रीका रूपमा सुर्दशन बराल थिए । सोही दिन मन्त्रालय टुक्रयाएर लीला गिरी स्वास्थ्यमन्त्री भए । त्यसपछि वैशाख १९ गते स्वास्थ्यमन्त्रीका रूपमा हरि रिजालले शपथ लिए । राम्ररी कार्यभार सम्हाल्न नपाउँदै वैशाख २१ गते भोजप्रसाद श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मा दिइएको छ । 
हप्तामै फेरिने मन्त्री र टुक्र्याइएको मन्त्रालयमा न मन्त्री बस्ने टुंगो छ, न स्वास्थ्य महाशाखाको व्यवस्थापन । पहिलो शिक्षा, स्वास्थ्य र बालबालिका हेर्नेगरी सामाजिक विकास मन्त्रालय थियो । तर पछि भागबण्डा मिलाउन उक्त मन्त्रालय टुक्रयाइयो ।


स्वास्थ्य विपद्‍मा स्वास्थ्य मन्त्रालय र मन्त्री पदमाथि गरिएको भद्दा मजाक सरकारी गैरजिम्मेवारीको पराकाष्ठा हो । मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनाल पन्ध्र दिनमा ४ स्वास्थ्यमन्त्री फेरिनु लज्जास्पद भएको बताउँछन् । नागरिकप्रतिको गैरजिम्मेवारी पनाको एउटा नमूना भएको उनको भनाइ छ । ‘सत्ता मात्र सत्य हो, अरु सबै मिथ्या हो भन्ने सिद्धान्त चरितार्थ गरेका छन्,’ उनले भने, ‘जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न असफल भएका छन् ।’

उनले सरकारले प्रकोपमा गर्न सक्ने पहलकदमी पनि नगरेको भन्दै सबै ध्यान र शक्ति आर्जन गर्न र सत्ता जोगाउन प्रयोग गरेको आरोप लगाए । कोभिडविरुद्ध लगाउनुपर्ने आर्थिक शक्ति कुर्सी जोगाउन लगाएको उनको आरोप छ । ‘प्रदेशको व्ययभार घटाएर उक्त पैसा अस्पताल बनाउन लगाउनु पथ्र्याे, तर त्यसको सटटा  मन्त्रालय थपेर जनतालाई अतिरिक्त भार थपिएको छ । स्वास्थ्य जस्तो संवेदशील मन्त्रालयलाई काममा लगाउनुको साटो कुर्सी बचाउने भर्‍याङ बनाइयो’ उनले भने।

लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय अभ्यासलाई कमजोर बनाउँदै शंकर पोख्रेल नेतृत्वको सरकारले अहिलेको शासन व्यवस्थालाई धरापमा पार्ने योजनाबद्ध चक्रव्युह रचिरहेको उनले आरोप लगाए । 

अर्का वाम बुद्धिजीवी ऋषि आजाद लुम्बिनी प्रदेशको पछिल्लो राजनीतिक घटनालाई बेमौसमी बताउँछन् । अहिले कोभिडविरुद्धको लडाइँमा लाग्नुपर्ने बेला हो,’ उनले भने, ‘तर सत्ताको जोड घटाउले जनतालाई निराश बनाएको छ । 

कुल १२ वटा जिल्ला रहेको लुम्बिनी सरकारमा मन्त्री संख्या १० पुगेको छ । स्वास्थ्य संकटका बेला मन्त्रीहरूलाई बस्ने कार्यकक्षसमेत छैन । सरकार जोगाउन गरिएको मन्त्री फेरबदल र मन्त्रिमण्डल विस्तारले सरकारलाई जनताप्रति उत्तरदायी नभएको पुष्टि गरेको कानुन व्यवसायी गोविन्द मरासिनीले बताए । 

दिनैपिच्छे मन्त्री फेरिएपछि मन्त्रालयका कर्मचारीहरूले मन्त्रीसँग राम्ररी साक्षात्कारसमेत गर्न पाएका छैनन् । मन्त्रालयका सूचना अधिकारी पुष्प पौडेल मन्त्री फेरबदलले काममासमेत असर परेको बताए । ‘आज नयाँ स्वास्थ्यमन्त्रीले पदभारग्रहण गर्ने भन्ने सुनेको छु, त्यसैले म पनि कार्यालय जान थालेको छु,’ उनले भने । 

अस्पतालका आफ्नै समस्या

लुम्बिनी प्रदेशमा कोभिड–१९ संक्रमितको उपचार गर्न सञ्चालित अस्पताल भरिभराउ छन् । स्वास्थ्यकर्मी र उपकरणको अभाव छ । पहिलो लहरमै जोखिमयुक्त क्षेत्रमा परेका रुपन्देही बाँकेजस्ता जिल्लामा दोस्रो लहरसम्म आइपुग्दा अवस्था भयावह बनिरहेको छ । 

रुपन्देही जिल्लाको सिद्धार्थनगरमा रहेको भीम अस्पतालमा जनरल फिजिसियन नै छैनन् । अस्पतालमा कोरोना उपचारका लागि खटिएका १ जना कोभिड फोकल पर्सन, ४ मेडिकल अफिसर, १ जना एनेस्थेसियन, १४ नर्स बाहेक मुख्य भुमिकामा फिजिसियन नरहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । 

अहिले अस्पतालले चिकित्सकसहित नर्सका लागि भ्याकेन्सी खोले पनि कोही कसैले आवेदन नदिएको उनले बताए । अस्पतालमा अक्सिजन सप्लाईमा प्रयोग हुने पाइपलाइनको केही भागमा समस्या आएको दुई हप्ताभन्दा बढी भइसक्यो । मर्मत गर्न कसैको ध्यान गएको छैन । 

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल र फिभर क्लिनिकमा चाहिने मेडिकल अफिसर र नर्स सरकारले तोकेको ३० देखि ४० प्रतिशत दरबन्दीमा २० प्रतिशत मात्रै छ । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले अहिले काम गरिरहेका जनशक्तिले बिरामीले चाहे सरह रेखदेख गर्न नपाएको बताए । अस्पतालले पनि कर्मचारी आवश्यकताको विज्ञापन गरेको थियो । कसैले आवेदन दिएन । खोलेको थियो तर कोही काममा आउन तयार देखिएको छैन । 

कोभिडका लागि खटिएका ५० जनाले लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक, इमर्जेन्सी र कोरोना अस्पताल तीनतिरै भ्याउनुपर्ने बाध्यता रहेको गौतमले बताए । ‘मौखिक रूपमै भए पनि प्रदेश सरकारमा इन्टर्न अफिसर, वा चिकित्सक नै मगाएर खटाउनुपर्यो भन्ने आग्रह गरेको धेरै भयो’, उनले भने, सुन्ने काम भयो, कार्यान्वयन कहिले हुने थाहा छैन ।’

अस्पतालमा एकैपटक ३९ वटा सिलिन्डर जडान भएर बिरामीलाई सप्लाई हुन्छ, बाहिर पनि त्यति नै सिलिन्डर राखिएको देखिन्छ । तर दैनिक ४ पटकसम्म उही संख्यामा अक्सिजन ल्याइराख्नुपर्ने अवस्था छ । अक्सिजन सकिएर कतिबेला बिरामीको ज्यान जान्छ भन्ने खतरा रहेको उनले बताए । 

निजीतर्फ रुपन्देहीमा कोरोना संक्रमितको उपचार गरिरहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा निजी भएकै कारण कुनै पनि सरकारले सहयोग नगरेको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘हामीले आफ्नै स्रोत साधनले सबै व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने, ‘अब थेग्न नसकिने गरी समस्या बढिरहेको छ ।’ अस्पतालमा कोभिड र ननकोभिड दुवै खालका बिरामी उपचार गरिने भएकाले जनशक्ति बाँडफाँडले गर्दा अहिले कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीमध्ये धेरैलाई संक्रमण भएकाले जनशक्तिकै अभाव सुरु भइसकेको उनी बताउँछन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x