लुम्बिनी

अक्सिजन प्लान्ट बने, उत्पादन न्‍यून

मुख्यमन्त्री फेसबुकबाट सहयोगको याचना गर्दै

बिक्रम खड्का |
बैशाख २३, २०७८ बिहीबार १८:४५ बजे

बुटवल : अस्पतालहरूमा कोभिड-१९ संक्रमित बिरामीका लागि अक्सिजनको अभाव देखिएको छ । अक्सिजनको माग अत्याधिक बढेपछि सप्लायर्सहरूले पनि डेलिभरी गर्न सकिरहेका छैनन् । जसका कारण संक्रमितको उपचार गरिरहेका अस्पतालहरुले अक्सिजनको सहज उपलव्धताका लागि सबै ठाउँमा हार गुहार गरिरहेका छन्। 

एकातिर बिरामीहरूको अस्पतालमा थेग्नै नसक्ने गरी भिड बढेको छ भने अर्कोतर्फ अक्सिजनको उपलब्धता नहुँदा समस्या बढिरहेको छ । विगतमा सहज ढंगले अक्सिजन उपलव्ध हुने भएकाले अस्पतालका अक्सिजन प्लान्टहरू पनि बन्द थिए । खहिले ति प्लान्टहरू तत्काल मर्मत गरी अक्सिजन उत्पादनको काम सुरु भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अक्सिजन प्लान्ट झण्डै दुई वर्षदेखि बन्द  थियो । आजबाट उक्त प्लान्ट संचालनमा आएको छ । जसले दैनिक ३० वटा सिलिण्डर उत्पादन गर्नेछ । जुन अहिलेको अवस्थामा निकै नगण्य हो । 


त्यस्तै अक्सिजनको हाहाकार भैरहेको बेला दाङमा बन्द अबस्थामा रहेको अक्सिजन प्लान्ट  सूचारु गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङ, स्थानीय निकाय, प्रहरीको समन्वयमा ग्यास प्लान्ट सुरु गरिएको हो । ६ वर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत अभावका कारण  पटक/पटक बन्द हुदै आएको थियो । यसपटक भने राष्ट्रिय प्रशारण लाइनबाट बिद्युत जडानगरी उद्योग सुरु गरिएको छ । 

घोराहीमा रहेको उक्त उद्योगबाट दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट संचालक टोपाराम पौडेलले बताए । सामान्य अवस्थामा जिल्लाभर दुईसय सिलिण्डर ग्यास आवश्यक पर्दथ्यो । तर कोभिडका बिरामी थपिदै जाँदा  दैनिक चारदेखि पाँचसय सिलिण्डर खपत हुँदै आएको छ । चार करोडको लागतमा सुरु भएको उद्योगबाट दैनिक दुईसय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ ।

दुवै अक्सिजन प्लान्ट बनेपछि यस क्षेत्रमा अक्सिजनको मागमा ठूलो परिपुर्ति हुने अवस्था रहेको छौ । मुख्यमन्त्री शंकर पोख्रेलले अक्सिजन अभावका विषयमा समाजिक सञ्‍चालमा चासो व्यक्त गरे पनि प्रभावकारी प्रवन्ध भएको छैन । अस्पतालहरूले अक्सिजनको माग वृद्धि नभए एक जना पनि नयाँ बिरामी राख्न नसकिने बताएका छन् । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x