लुम्बिनी

प्रदेश स्तरीय राष्ट्रपति कप खेलकुद

...अनि प्रतियोगिताका लागि हिँडेका खेलाडीहरू बाटाेमै अलपत्र परे

प्रदेश सरकारले विनियोजित बजेट रोकिदिएपछि प्रतियाेगिता हुनेबारे अन्याेल

विक्रम खड्का |
बैशाख १०, २०८० आइतबार १९:५९ बजे

बुटवल । लुम्बिनी प्रदेशमा सोमबारबाट हुने भनिएको प्रदेश स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता अनिश्चित भएको छ । प्रदेश सरकारले विनियोजित बजेट एकाएक रोकिदिएपछि प्रदेश स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता अन्योलमा परेको हो । 

प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरू प्रतियोगिताका लागि खेलस्थल बुटवल प्रस्थान गर्नै लाग्दा प्रदेश सरकारबाट बजेट निकासा रोकिदिएको सुनेपछि खेलाडीहरू बाटोमै रोकिएका छन् । कतिपय जिल्लाबाट बसपार्कमा पुगेका खेलाडीहरू बसपार्कमै अलपत्र परेका छन् । राष्ट्रपति कपका लागि प्रदेशबाट विनियोजित २८ लाख र संघीय सरकारबाट ससर्त विनियोजित २४ लाख रूपैयाँ रकम प्रतियोगिता सुरु हुने अघिल्लो दिन प्रदेश सरकारले निकासा रोकिदिएपछि लुम्बिनी प्रदेशमा हुने प्रतियोगिता नै अन्यौलमा परेको हो ।


पालिका र जिल्ला स्तरका सम्पूर्ण छनौट खेलहरू सम्पन्न भइसकेको र प्रदेशका लागि बन्द प्रशिक्षण पनि सकिएको अवस्थामा बजेटका कारण प्रतियोगिता अनिश्चित भएपछि खेलाडीहरूको भविष्य पनि अन्योलमा परेको छ । प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरू बुटवलका लागि हिँडिसकेको अवस्थामा प्रतियोगिता हुने विषय नै अन्योलमा पारिएको छ ।

उद्घाटनको अघिल्लो दिनसम्म आईपुग्दा पनि बजेट निकासा नगरेर सरकारले खेलक्षेत्रप्रतिको नियत उदाङ्गो भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले टिप्पणी गरे । ‘रातदिन नभनी प्रतियोगिताको तयारी अघि बढाइयो तर आज आएर हजारौं खेलाडीहरूलाई घर न घाटको बनाउनु पर्ने अवस्थाले निकै पीडाबोध भएको छ,’ उनले भपे, ‘हुँदैन पनि नभन्ने तर अघि पनि बढ्न नदिने काम किन भयो थाहा भएन ,म मन नपरे हटाए भयो तर भविष्यका देशका गहना युवा खेलाडीलाई यस्तो बनाएर दिमागमा नराम्रो छाप बसाल्ने काम गर्नु भएन ।’

स्थानीय तह र जिल्लाको छनौट सकेर बन्द प्रशिक्षण समेत सम्पन्न भइसक्दा सम्म प्रदेश सरकारबाट बजेट निकासा नभएको सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । उनले विनियोजित बजेट समेत प्रदेश सरकारले निकासा नगरिदिएको आरोप लगाए । आर्थिक मन्दीलाई दृष्टिगत गर्दै संघीय सरकारले बिनियोजित बजेटमा सम्पन्न भइसकेका बाहेक सम्पन्न हुन बाँकी कार्यक्रमको २० प्रतिशतसम्म बजेट कटौती गर्ने परिपत्र गरे पनि लुम्बिनी प्रदेश सरकारले सम्पन्न भइसकेको सहित सम्पूर्ण बजेट कटौती गरिदिएको खेलकुद सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

उता सरकारका प्रवक्ता चेतनारायण आचार्यले भने सम्बन्धित मन्त्रालयबाट फायल नभएको हुन सक्ने दाबी गरे । खेलकुद मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री लीला गिरीको नै भएकोले मुख्यमन्त्रीकै निर्देशनमा बजेट रोकिएको खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भूपेन्द्र क्षत्रीले आरोप लगाए । 

खेलकुद परिषदका सदस्य सचिव भट्टराईले भने सम्पन्न भइसकेका कार्यक्रमहरूको भुक्तानीका लागि आदेश पेश हुँदासमेत बजेट ‘लक’ गरिएको बताए । उनले गत चैत २८ गते नै सम्पन्न भइसकेका कार्यक्रमको भुक्तानी र प्रदेश स्तरीय राष्ट्रपति कपका लागि पेस्की सहित ९४ लाखको दायित्व सहितको बजेट माग गरि फायल पेस गर्दा सम्पूर्ण बजेट रोक्का भएको बताए । उनले प्रदेश खेलकुद परिषदबाट कुनै ढिला नगरिएको पनि स्पष्ट पारे । निकासा सम्बन्धमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले मिटिङमा भएको भन्दै थप कुरा गर्न खोजेनन् ।

१२ औं राष्ट्रपति कपमा लुम्बिनी प्रदेश सर्वाधिक पदकसहित प्रथम हुनुका साथै तीनवटा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएको थियो । यस वर्षको प्रदेश स्तरीय छनौटमा ५ वटा विधामा खेलाडीहरूले प्रतियोगितामा भाग लिँदै थिए ।

प्रदेश स्तरीय छनोट प्रतियोगिता अन्योलमा परेपछि लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला खेलकुद परिषदका अध्यक्षहरू आक्रोशित बनेका छन् । प्रतियोगिताका लागि बुटवल पुगेका उनीहरूले लुम्बिनीमा प्रतियोगिता हुन नदिए १३ औ राष्ट्रिय प्रतियोगितामा अवरोध गर्ने चेतावनी दिएका छन् ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x