लुम्बिनी

सकिनै लागेको अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड तगारो

बिक्रम खड्का |
मंसिर ४, २०७७ बिहीबार ७:२६ बजे

भैरहवामा निमार्णधिन अन्तराष्ट्रिय गौतम बुद्ध विमानस्थलको संरचना । तस्बिर : इकागज

बुटवल : सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेको भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ वर्षमा पनि नसकिने भएको छ । सुरुमा तीन वर्षमै काम सक्ने गरी २०१५ मा ठेक्का सम्झौता भएको थियो । जसअनुसार उक्त आयोजना २०१७ को अन्त्यमा सकिनुपर्ने थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०१५ मा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । जसको लक्ष्य २०१७ को अन्त्यमा सक्ने लक्ष्य थियो । तर पटक–पटकका अवरोध र सुस्त कार्यशैलीका कारण २०२० मा पनि नसकिने निश्चित छ । सुरुमा तीन वर्षमै काम सक्ने गरी सम्झौता अनुसार चीनको नर्थ वेष्ट सिभिल एभिएसनसँग ठेक्का भएको थियो ।


तर अनेक बाहनामा पटक-पटक गरी पाँच पटकसम्म म्याद थप भइसकेको छ । समयावधि ठीक दोब्बर भएको छ । यसरी म्याद थप हुँदा राज्यलाई आर्थिक भार समेत परेको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार, सुरुमा आयोजनाको ठेक्का सम्झौता ६ अर्ब २२ करोड रुपैयाँ सम्झौता भएको थियो । त्यसमा ६० करोड रुपैयाँ थप रकम थप गरिसकेको छ । यद्यपि संरचना परिर्वतन भएको कारण रकम बढेको दाबी अधिकारीको छ ।

विदेशी जनशक्ति नआउँदा निर्माण कार्यमा अवरोध 

ठेकेदार कम्पनी चीनबाट दक्ष प्राविधिकहरु नआउँदा कामले गति लिन नसकेको हो । ‘अब विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ’, आयोजना प्रमुख अधिकारीले भने, ‘प्राविधिक काम निकै चुनौतिपूर्ण हुँदो रहेछ ।’ उनका अनुसार, अधिकांश उपकरण आइसकेको छ । तर विदेशबाट जनशक्ति ल्याउन चुनौती भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडान प्रक्रियामा छन् ।

नेपालमा कोभिड संक्रमण तीव्र भएको भन्दै प्राविधिकहरु नेपालमा आउन नमानेको बताएको अधिकारीले बताए । उनले चीनका केही प्राविधिहरु ल्याउन भिषा उपलब्ध भए पनि त्यहाँको सरकारले कोभिड भ्याक्सिनका लागि रोकेको खबर आफूले पाएको बताए । यो राष्ट्रिय गौरवको आयोजनाको सूचीमा छ ।

९३ प्रतिशत काम पूरा, चिनियाँ प्राविधिक भिषा पाएर पनि आएनन्

यस्ता आयोजनामा निर्माणका क्रममा कुनै पनि वाधा अवरोध उत्पन्न नगर्ने, बजेट विनियोजनमा प्राथमिकता दिने गरिन्छ । तर आयोजनालाई परेको प्राविधिक समस्या सहजीकरणमा सरकारी सहयोग नरहेको बुझिएको छ । यता आयोजनाले उपकरण जडान गर्न ३५ चिनियाँ दक्ष प्राविधिक इन्जिनियर जनशक्ति ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको बताएको छ ।

भौतिक संरचना निमाण पूरा भएको दावी
विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडान लगायत केही प्राविधिक काम मात्रै बाँकी छ । आयोजनाका अनुसार, ९३ प्रतिशत काम सकिएको छ । बाँकी ७ प्रतिशत काम अघि बढ्न नसक्दा सिंगो आयोजना अन्योलमा परेको हो ।

सरकारी अधिकारीहरुले कोभिड-१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यवसायिक सञ्चालनमा आइसक्ने बताउँछन् । अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट सञ्चालनमा आउने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल निर्माणमा ठेकेदार कम्पनीको कारण अवरोध भएको छ । ठेकेदार कम्पनीले पेटी ठेकेदारहरुसँग काम गर्दा समस्या आएको बताउँदै आएको छ । यसको ठेक्का चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले पाएको हो । यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

 पाँचौं पटक थपिएको म्याद सकिन डेढ महिना बाँकी 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको ६ महिनाअघि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले ६ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को ६ महिना लाग्नेछ । यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । विमानस्थलको धावनमार्ग, ट्याक्सी-वे लगायतका काम सकिएको र विद्युतको काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावरका काम सकी उपकरण जडान भइरहेको छ ।

मन्त्रीलाई हतारो
पर्यटन तथा नागरिक उड्ययन मन्त्रीहरु नियुक्त भए लगत्तै भैरहवा विमानस्थल निरिक्षणमा आउने गर्छन् । पछिल्लो ६ वर्षमा हरेक वर्ष जसो मन्त्रीहरुले आयोजनाको निरीक्षण गरेकै हुन्छन् । विभागीय मात्र होइन अन्य मन्त्री र नेताहरुले पनि विमानस्थल निर्माणको अनुगमन गरेको बताउँछन् । तर आयोजनालाई परेको समस्यामा सहजीकरणमा खासै ध्यान पुगेको देखिदैनन् ।

 २०१७ मा सकिनुपर्ने आयोजना २०२० मा पनि नसकिने निश्चित

गौतम बुद्ध विमानस्थल निर्माणको अवलोकन गर्न पर्यटन मन्त्री योगेश भट्टराई गत भदौ २६ मा निरीक्षणका क्रममा आउँदो डिसेम्बरसम्म पूरा हुने दाबी गरेका थिए । आयोजनाको स्थलगत अवलोकनपछि उनले कोभिड संक्रमणका कारण प्रतिकूल अवस्थामा पनि यो आयोजनाको काम एक दिन पनि नरोकिएको भनेका थिए ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x