लुम्बिनी

आहा आठ महिनापछि खुलेको लुम्बिनी (फोटो फिचर)

बिक्रम खड्का |
मंसिर ४, २०७७ बिहीबार १३:१३ बजे

बुटवल : विश्व शान्तिको मुहान लुम्बिनी आठ महिनापछि पर्यटकहरुका लागि खुला गरिएको छ । कोभिड-१९ का कारण २०७६ चैतदेखि बन्द रहेको लुम्बिनी क्षेत्र बुधबारदेखि खुला गरिएको छ । अब लुम्बिनी घुम्नका लागि स्वदेशी र विदेशी पर्यटकहरुले लुम्बिनी प्रवेश पाउने भएका छन् ।

यस अघि दैनिक जसो पर्यटकहरु लुम्बिनीको गेटसम्म पुगेर प्रवेश नपाएपछि खिन्‍न भएर फर्किने गरेका थिए । सरकारले गत शुक्रबार पर्यटकीय गन्तव्यहरु खुलाउने निर्णय गरेसँगै बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि बुधबारदेखि खुला गरिएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।


पर्यटकका लागि खुला गरिएको भए पनि मायादेवी मन्दिरभित्र भने प्रवेश गर्न नपाइने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले मायादेवी मन्दिर परिषरमा रहेको अशोक स्तम्भ, पुस्करिणी पोखरी, बगौचा भने खुला रहने बताए । लुम्बिनी प्रवेश गर्ने पर्यटकका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने छ ।

सदस्य सचिव शाक्यका अनुसार मन्दिर क्षेत्र प्रवेश गर्नु अघि मास्क र तापक्रम मापन गर्नु पर्नेछ । लुम्बिनीका अन्य विहार (गुम्बा) र मन्दिरहरुमा घुमघामका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने उनले बताए । पहिलाको भन्दा सुरक्षा संवेदनशिलता समेत बढाइने कोषले जानकारी दिएको छ । यस अघि बन्द गरिएको लुम्बिनी क्षेत्र खोल्न भन्दै विभिन्न संघ संस्थाहरुले आवाज उठाएका थिए । उनीहरुले लुम्बिनी विकास कोषको कार्यालयमै पुगेर पर्यटकका लागि लुम्बिनी खोल्नुपर्ने भन्दै ज्ञापनपत्रसमेत बुझाएका थिए ।

लकडाउनमा सौन्दर्यीकरण
लकडाउन पूर्ण रुपमा खुलेपछि तपाईं लुम्बिनी घुम्ने सोचमा हुनुहुन्छ ? त्यसो भए तपाईंका लागि खुसीको कुरा छ । लकडाउन अघिको लुम्बिनी र लकडाउन पछिको लुम्बिनीमा परिवर्तन आएको देख्न पाउनुहुनेछ ।

लुम्बिनी विकास कोषले कोभिडका कारण सरकारले घोषणा गरेको लकडाउनको सदुपयोग गर्दै सरसफाई, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरेर लुम्बिनीलाई सिंगारेको छ । जसका कारण लुम्बिनी सुन्दर र चिटिक्क बनेको छ । लकडाउनको सदुपयोग गर्दै सिंगो लुम्बिनी क्षेत्रको सौन्दर्यीकरणको प्रयास भइरहेको कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले बताए ।

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगिन इटा बिछ्याइएको छ । यसअघिको पक्कि सडक भत्काएर रंगिन इटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने सडक निकै सुन्दर देखिएको छ । रंगीन सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन्।

यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकोमा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुवो काटेर विभिन्न ठाउँमा फूल फूलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ। माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पूरातात्विक संरचनाहरुको मर्मत सम्भार गरिएको छ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन पोलसहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ। केन्द्रीय नहरको पानी सुकाएर सफा बनाइएको छ भने दुवैतिरका पैदलमार्ग चिटिक्क पारिएको छ । केन्द्रीय नहरमाथि बनाइएका आर्क व्रिज र छेउमा निर्मित मण्डलाहरुको पनि सफाई गरिएको कोषले जानकारी दिएको छ ।

केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमूनि फूल फुलाएर सिंगारिएको छ । बगैंचाहरु सफा गरिएको छ भने पैदलमार्गहरु मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारसलगायतका पंक्षी र जनावरहरुको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । त्यहाँ फलफुलका विरुवा रोपिएको छ ।

कोषका योजना प्रमुख सरोज भट्टराईले सौन्दर्यीकरणका कामसँगै पाँच हजार अटाउने सभाहल, टेलिकम्युनिकेशन लगायतका क्षेत्रको काम पनि भइरहेको बताए। रंगिन इटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ। वायु प्रदूषण नभएका कारण सम्पदाहरु सफा देखिएका छन् ।

शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तुपा प्रष्ट देखिन थालेको छ । सबैतिर धुलो र हिलो हटाएर हरियाली बनाउने प्रयास भइरहेको कोषले बताएको छ। लकडाउन थपिँदै गएकाले अर्को वर्षको बजेटबाट नया लुम्बिनीग्राम क्षेत्रमा दुईकिलोमिटर लामो पैदलमार्ग बनाउने योजनासमेत कोषको छ । त्यो बाहेक सौन्दर्यीकरणका बाँकी रहेका थुप्रै काममा ध्यान केन्द्रित गरिने कोषका सदस्य सचिव ज्ञानिन राईले बताए ।

 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x