लुम्बिनी

महामारीमा अस्पतालमा ब्रह्मलुट

सरकारीमा टेक्ने ठाँउ छैन, निजीमा चर्को शुल्क !

बिक्रम खड्का |
जेठ ३, २०७८ सोमबार १०:४४ बजे

बुटवल : कोभिड १९ को महामारी भएसँगै नागरिकहरु उपचारका लागि स्वास्थ्य केन्द्रहरुमा धाइरहेका छन् । सरकारी अस्पतालहरुमा टेक्ने सम्म ठाँउ नपाएपछि उनीहरु  निजी  स्वास्थ्य संस्थाहरुमा उपचारको याचना गरिरहेका छन् । अस्पतालहरुमा बेड र  अक्सिजन नपाएपछि भौतारिरहेका नागरिकमाथी कतिपय स्वास्थ्य स्वास्थ्य संस्थाहरुले कमाउने  अवसरका रुपमा लिएका छन् ।
 
कपिलवस्तुको वालापुरकी गिता थापा सरकारी अस्पतालहरुमा कतै उपचारका लागि बेड नपाउने भए पछि आफन्तले जिल्लाको चन्द्रौटास्थित एक निजि अस्पतालमा लगे । जहाँ  उनको दुई दिनकै उपचार खर्च ४८ हजार निस्कियो । ज्वरोको उपचार र औषधीको मुल्य जोडेर ४८ हजार रुपैयाँ परेपछि आफन्त जिल खाए ।

उनी मात्र होइन, उक्त अस्पतालको सेवा लिन आएका जिल्लाकै सुरेन्द्र पोख्रेलको नाममा पनि २५ हजारको बील बन्यो । एक दिन अस्पताल राखेर उपचार गर्दा त्यति बढी रकम अस्पतालले मागेको पोख्रेलका आफन्त हेमेन्द्र पौडेलले जानकारी बताए ।


उनी मात्र होइनन्, कपिलवस्तुकै सन्तोष कुमार खड्काले सोहि अस्पतालमा तीन दिनको शुल्क ६८ हजार बुझाएका छन् । यसरी अस्पतालमा ज्वरोकै उपचार गर्दा यति बढी शुल्क आएपछि स्थानिय अस्पतालप्रति आक्रोशित समेत भएका छन् । 

चिकित्सकको सेवा पाएर निको हुने आशामा उपचार गराउन बिरामी अस्पताल जाने गर्छन् । तर सामान्य उपचार खर्चको बील रकम ४० देखी ७० हजारसम्म आए पछि बिरामी रोगले भन्दा पनि आर्थिक पीडाले मानसिक तनावमा पर्ने गरेका छन् ।

सोहि अस्पतालमा आफन्तलाई उपचारका लागि भर्ना गर्दा मनपरी असुली भएको देखेपछि शिवराजका शिरिष मगरले अस्पतालको बील फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोही बीलका आधारमा अस्पतालले बिरामीसँग अत्यधिक बढी मूल्य लिएको देखिन्छ । 

न बील न त मापदण्ड

अस्पतालले उपचारमा मुल्य मात्र ठगेको छैन, जसले आवश्यक मापदण्ड नै पुरा नगरेका कारण बिरामीको ज्यान जोखिममा पारेका छन् । अस्पतालको आवश्यक मापदण्ड पुरा गरे नगरेको विषयमा अनुगमन गर्ने निकाय मौन बस्दा पनि स्वास्थ्य संस्थामा यस्तो मनलाग्दी भएको पाइन्छ । 

अस्पतालमा डाक्टर त छन् तर अस्पतालको भित्तामा मात्र । जस्मिन अस्पतालका एक जना कर्मचारीले भने, ‘डाक्टरहरु त हुनुहुन्न, कहिले काँही आवश्यक परे बोलाउने हो ।’
तर भित्तामा भने उनीहरुको नाम छ । त्यति मात्र होइन, त्यहां कार्यरत चिकित्सकको एनएमसी नम्बर समेत छैन । फार्मेसीमा योग्यता अनुसारको जनशक्ति नभएको कुरा अनुगमनमा पाइएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।

उपचारका लागि आएकी गिता थापाले उपचार खर्चको बील पाइनन् । उनलाई अस्पतालको दर्ता रजिष्टरमा लेखिएको विवरणका आधारमा रकम तिर्न भनियो । तर केहि बेर बील  नभए पैसा कसरी दिने भनेर आफन्तले भनेपछि अस्पतालको लेटर प्याडमा छाप लगाएको बील दिईयो । 

जहाँ १ हजार ६ सय ४० रुपैया छुट गरी ३९ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ । बील छैन भनेर कसैले सोधी हाले अस्पतालका कर्मचारीहरुको जवाफ प्रेसमा छाप्न दिएको छ भन्ने आउँछ ।
जिल्लाका सरकारी अस्पतालहरु बिरामीले भरिएका छन् । कुनै पनि अस्पतालमा बिरामीका लागि बेड नभएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । उनले निजि अस्पतालहरुले यस्तो मौकामा बढी शुल्क लिएको गुनासाहरु आएका कारण अनुगमन अघि बढाइएको जानकारी दिए । 

अस्पताल बन्द गर्न निर्देशन

कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन अस्पतालको सेवा प्रवाहलाई बन्द गर्न स्थानीय सरकारले निर्देशन दिएको छ । आइतबार स्थलगत अनुगमनपछि शिवराज नगरपालिकाले जस्मिन हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको हो । 

अस्पतालले बिरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने जनगुनासो आएपछि अनुगमन गरिएको थियो । अनुगमन गर्दा आवश्यक कागजात नभएको भन्दै हस्पिटल बन्द गर्न निर्देशन दिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताए । शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरीको नेतृत्वमा गरिएको अनुगमन टोलीले हस्पिटलको आइतबार अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा एनएमसी नम्बर नभएको, मुल्य सूचि नराखेको, खरिद बिल खरिद खाता नराखेको, बिक्री बिल जारी नगरेको, फार्मेसीमा फर्माष्टिस नराखेको, म्याद गुज्रिएको औषधि स्टोर नगरिएको, खरीद मुल्य र एम आरपीसँग तालमेल नरहेको र अत्यधिक बढी मुल्यमा औषधि बिक्री गरेको पाइएकाले हस्पिटल बन्द गर्न निर्देशन दिएको हो । हस्पिटलमा तीन जना बिरामी भर्ना रहेकोले तीन दिन भित्र डिस्चार्ज गरि बन्द गर्न निर्देशन दिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले जानकारी दिए ।

तोकिएको दररेट भन्दा अत्यधिक बढी रकम लिएको र भुक्तानी बील नभएकोले कारवाही प्रक्रिया अघि बढेको शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरीले जानकारी दिइन् । 

यस्तै अनुगमन टोलीलाई अवरोध गरी अभद्र व्यवहार गरेको भन्दै हस्पिटलका दुई कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ । हस्पिटलको डाक्टर बताउने रोशनी नेपाली र ज्योति नेपालीलाई पक्राउ गर्न शिवराज नगरपालिकाले प्रहरीलाई आग्रह गरिएको जानकारी दिएको छ ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x