लुम्बिनी

सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौं : मुख्यमन्त्री चौधरी

इकागज |
असार १०, २०८० आइतबार १५:२३ बजे

 बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमका लागि छुट्याइएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता गरेका छन् । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा निजी क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट दिएको भन्दै विरोध तथा आलोचना हुन थाले पनि चौधरीले सञ्चार माध्यममा आएजस्तो छर प्रस्ट बजेट खर्च नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुटवलमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश भित्रका सबै मिडियालाई हेर्न दृष्टिकोण एउटै रहेको बताउँदै नीति तथा कार्यविधि बनाएर व्यवस्थित र समानुपातिक ढंगले सञ्चार मन्त्रालय मार्फत नै बजेट खर्च हुने बताए ।


दाङ केन्द्रित मिडियालाई मात्रै बजेट विनियोजन गरेको गुनासो आफूसमक्ष समेत आइरहेको बताउँदै मुख्यमन्त्री चौधरीले मिडियाको क्षेत्रमा छुट्याइएको १२ करोड रकम समावेशी ढंगले विनियोजन गरिने दोहोर्याए । उनले सांसदहरूले आफूले पाएको सिलिङ अनुसार मिडियाको नाममा बजेट मागेको भए पनि त्यो पैसा खर्च गर्न नमिल्ने बताउँदै ती बजेटलाई एकमुस्ट बजेटमा समावेश गरी खर्च गर्ने उल्लेख गरे ।

‘मिडियामा जसरी दाङको मुख्यमन्त्री र अर्थमन्त्री भएकोले दाङमा बढि बजेट गएको छैन, समान ढंगले विरतण भएको छ,’ उनले भने, ‘सञ्चार क्षेत्रमा पनि एकमुस्ट बजेट नै छ । एकल रूपमा आएका बजेट खर्च गर्न मिल्दैन, ति सबैलाई एउटै शीर्षकमा समावेश गरेर समानुपातिक ढंगले वितरण गर्नेछौँ ।’

उनले लुम्बिनी प्रदेशलाई पर्यटकीय प्रदेश बनाउने योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारको आयोजनामा नेपालमै पहिलो पटक लुम्बिनीमा ‘लिडर टु लोरेन्स’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । 

बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्ध सर्किट रहेको लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउन कार्यक्रम महत्वपूर्ण हुने बताए । सन् २०२४ जनवरी १५ मा हुने कार्यक्रममा झण्डै १ दर्जन नोवेल पुरस्कार विजेताहरू(लोरेन्स) र करिब १ दर्जन राष्ट्रका राष्ट्र प्रमुख कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए । 

उनले लुम्बिनी प्रदेश सरकार अहिले रोजगारी सिर्जनाको काममा लागिरहेको बताउँदै यो कार्यक्रमबाट पनि रोजगारी सिर्जना हुने गरी तयारी भइरहेको बताए ।


Author

थप समाचार
x