लुम्बिनी

तिलोत्तमाको बजेट पौने ३ अर्ब

इकागज |
असार १०, २०८० आइतबार १६:४७ बजे

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख जागेश्वर देवी चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पुँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमानित बजेट पेस गरिन् ।


तिलोत्तमाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो । चालु आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रहेको छ ।

बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजनिक गरिएको हो । बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालु आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो ।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताइन् । बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ । यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैंगिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ । 

नगरवासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसात गरी सबै क्षेत्रको समतामूलक विकासलाई दृष्टिगत गरी बजेट तयार पारिएको उपप्रमुख चौधरीले उल्लेख गरिन्  । तिलोत्तमा नगरले स्थापित गरेको गरिमालाई थप उचाइमा पुर्याउने गरी ल्याइएको बजेटले नगरभित्रका बहुआयामिक पक्षलाई सम्बोधन गरिएको बताइन् । 

आइतबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक रहेकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षका लागि करका दर अधिकांश यथावत् राखिएको र कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताइन् । 

तेस्रो अधिवेशनको शनिबार बसेको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खांणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित गरेको थियो । आइतबार प्रस्तुत भएको बजेट तथा आर्थिक ऐनको दफाबार छलफलका लागि नगर प्रमुख खांणले असार १६ गते दिउँसो २ बजे नगरसभाको तेस्रो बैठक बोलाएका छन् ।


Author

थप समाचार
x