लुम्बिनी

अनि आफैं अघि सरे हिरा केवट

छिमेकी डराएपछि पालिका अध्यक्षले गरे दाहसंस्कार

बिक्रम खड्का |
जेठ ४, २०७८ मंगलबार १२:४० बजे

बुटवल : रुपन्देहीको ओमसतिया गाउँपालिका–२ कर्मडाँडाका ५१ वर्षीय चन्द्रबहादुर गुरुङको सोमबार बिहान मृत्यु भयो । कोभिड संक्रमित उनी घरमै औषधि सेवन गरेर बसिरहेका थिए । अस्पतालहरूमा बेड नपाउने भएपछि उनको परिवारले घरमै राखेका थिए  । चन्द्रबहादुर रहेनन् । 

चन्द्र बहादुरसंगै उनको सबै परिवार कोभिडसंग लडिरहेका थिए । सिकिस्त श्रीमानलाई रेखदेख गर्ने श्रीमतीदेखि छोराहरू पनि संक्रमित थिए । आफ्नै अगाडि वितेका श्रीमान तथा बुवाको दाहसंस्कार कसले गर्ने हो निकै अन्योलको अवस्था थियो । उनका ३ भाइ–छोरा र श्रीमती कोभिड संक्रमित भएर विस्तारामै थिए । 


चन्द्रबहादुर वितेको कर्मडाँडा हुदै सबैतिर खबर फैलियो । स्थानीय छिमेकीहरूले मुखामुख गरे । तर घर भित्र पल्टिएको शव उठाउने आँट कसैले गरेनन् । कोभिड बिरामी गुरुङको शव घरबाट निकाल्न स्थानीय डराए । उनको घरमा पस्ने समेत कसैले हिम्मत गर्न सकेनन् । ‘मर्दा–पर्दा छिमेकी नै काम लाग्छ’ भन्ने नेपाली भनाइ यहाँ लागू हुन सकेन । कोभिड संक्रमितको शव छुँदा आफू पनि संक्रमित हुने र आफ्ना बालबच्चा समेत जोखिममा पर्ने त्रासले छिमेकीहरू उनको घर जान समेत डराए ।

घरमै शव रहेको र उठाउन कसैले सहयोग नगरेको खबर ओमसतिया गाउँपालिकामा पुग्यो । गाउँपालिकाको स्वास्थ्य शाखाले शव ब्यवस्थापनको लागि छिमेकीको साथ माग्यो तर सहयोग गर्न कोही अगाडि आएनन् । शव व्यवस्थापनमा कोही अगाडि नआएपछि स्वास्थ्य संयोजक दिपक ज्ञवालीले यस बारे गाउँपालिका अध्यक्ष हिरा केवटलाई खबर गरे । बिहान साढे ७ बजे खबर पाएका गाउँपालिका अध्यक्ष केवट पनि सुुरुमा छिमेकीहरूसँगै सहयोगको याचना गरे । घण्टौं शव व्यवस्थापनमा साथ दिन अनुनय विनय गरे पनि कोही आएनन् । कोही अगाडि नसरेपछि केवटले गाउँपालिकाकै ट्रयाक्टरमा राखेर शव ब्यवस्थापन गर्ने निधो गरे ।

 ‘पीपीई सेट ल्याएर परिवारको सहयोगमा शवलाई गाउँपालिकाकै ट्रयाक्टरमा राख्यौ’ केवटले भने ‘ट्रयाक्टरमा शव राखिएकै कारण सो ट्रयाक्टर चलाउन पनि कोही अगाडि सरेन, अन्ततः मैले नै उक्त ट्रयाक्टर हाँकेर कर्मडाडामै लगेर अन्तिम संस्कार गराए ।’

केवटले यसलाई जनप्रतिनिधि हुनुको दायित्व पूरा गरेको बताए । ‘जनप्रतिनिधि भएर काम गर्न भन्दा सजिलो माओवादीद्वारा संचालित जनयुद्ध थियो जस्‍तो लाग्‍यो,’ उनले भने, ‘तर आज एउटा पनि सहयोद्धा भेटिएनन् । साथ खोज्दा टाढा भाग्ने डराउने गरे ।’ उनी माओवादीका पूर्वलडाकु समेत हुन् । 

उनले थपे, ‘मेरो पनि परिवार छ । तर, जनप्रतिनिधि भएर काम गर्दा मेरा लागि सबै भन्दा पहिलो देश र जनता हुन् । जनप्रतिनिधि भएकोले मैले आफ्नो कर्तब्य मात्र निर्वाह गरेको हु ।’ 

तत्कालीन माओवादीवाट चुनाव जितेका केवट अहिले एमालेमा लागेका छन् । जसका कारण उनलाई पार्टीले कारबाहीका लागि स्पष्टीकरण पनि सोधेको छ । उनले घर घरमा संक्रमितलाई तरकारी, अण्डासमेत लगेर जाने गरेको बताएका छन् । स्थानीय किसानसमेत भएकाले उनले अहिले आफ्नो बारीको तरकारी संक्रमितका परिवारलाई निःशुल्क वितरण गरेको बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x