लुम्बिनी

असार सकियाे तर सकिएन राेपाईं, लुम्बिनीका कुन जिल्लामा कति खेत राेपियाे ?

विक्रम खड्का |
साउन ३, २०८० बुधबार १७:५५ बजे

बुटवल । असार सकिँदा रोपाईं अन्तिम चरणमा पुग्नु पर्ने हो तर लुम्बिनी प्रदेशमा अहिलेसम्म ६५ प्रतिशत मात्रै रोपाईं भएको छ । तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुन्छ । जसमध्ये असार सकिँदा १ लाख ९९ हजार ३४६ हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले जानकारी दिए ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता मरासिनीका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाईं कपिलवस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाईं हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा हुन्छ ।


जसमध्ये कपिलवस्तुमा असार सकिँदा ४५ हजार ५४६ हजार हेक्टर क्षेत्रफल अर्थात् धान रोपाईं हुने क्षेत्रफलको ६५ प्रतिशतमा भएको छ भने रुकुम पूर्वमा १ हजार २७७ हेक्टर अर्थात ९० प्रतिशत क्षेत्रफलमा मात्रै सकिएको छ । यस्तै रुपन्देहीमा अहिलेसम्म ७५ प्रतिशत रोपाईं सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६२३ हेक्टरमा रोपाईं भएको छ ।

यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३० प्रतिशत र बर्दियामा ७४ प्रतिशत सकिएको छ । दाङ जिल्लामा हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ११ हजार २२९ हेक्टर क्षेत्रफलमा रोपाईं भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टरमा अर्थात ७४ प्रतिशत सकिएको छ । बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म १४ हजार ८५० हेक्टर क्षेत्रफलमा सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य ४५ प्रतिशत मात्रै हो ।
नवलपरासी पश्चिममा धान रोपाईं हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये १४ हजार ३५० हेक्टर अर्थात ७० प्रतिशतमा भएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ६०.५ प्रतिशत रोपाईं सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा  रोपाईं हुन्छ भने असार सकिँदा ५ हजार २०२ हेक्टर क्षेत्रफलमा मात्रै सकिएको छ ।

पाल्पामा ६ सय ५६८ हेक्टर क्षेत्रफल अर्थात् ८० प्रतिशत सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाईं हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । यता प्यूठानमा ९७ प्रतिशतमा सकिँदा अर्घाखाँचीमा ७० प्रतिशत रोपाईं भएको छ ।

प्यूठानमा ६ हजार ३२९ हेक्टर क्षेत्रफलमा रोपाईं हुँदा अर्घाखाँचीमा ५ हजार ६३५ हेक्टर क्षेत्रफलमा सकिएको मन्त्रालयले जनाएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाईं हुन्छ । साथै रोल्पामा ९६ प्रतिशत रोपाईं सकिएको छ । रोल्पामा धान रोपाईं हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये ४ हजार हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको छ ।

यस वर्ष समयमा नै पानी नपर्दा गतवर्ष भन्दा कम मात्रामा धान रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनी बताउँछन् । ‘सिचाईंको क्षेत्र बढाउन नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईंमा पर्यो ।’–उनले भने। आकासे पानीको भर पर्दा रोपाई ढिला हुने गरेको कृषकहरुको भनाइ छ ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x