लुम्बिनी

पेट्रोलियम पदार्थका व्यवसायीलाई अग्नि सुरक्षा प्रशिक्षण

इकागज |
साउन १६, २०८० मंगलबार १२:४० बजे

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोल पम्पमा हुन सक्ने आगलागी तथा आगलागी नियन्त्रणबारे व्यवसायीहरुलाई प्रशिक्षण दिएको छ ।

एशोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रुपन्देहीको सहजीकरणमा ब्यवसायीहरुलाई आगालागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनु पर्ने सुरक्षा सतर्कताका विषयमा प्रशक्षिण प्रदान गरेको हो ।


पेट्रोलियम पदार्थ अति नै संवेदनशील र अत्यधिक प्रज्वलनशील पदार्थ भएकाले एशोसिएसनले वार्षिक कार्ययोजना अनुसार एशोसिएसनमा आवद्द ब्यवसायीहरुलाइ अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजना सम्बन्धी प्रशिक्षण सञ्चालन गरेको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए ।

सबै पेट्रोल पम्पहरुमा अग्नी नियन्त्रण गर्ने उपकरणहरुको व्यवस्था भएपनि उपकरण प्रयोग गर्न नजानेमा हुने क्षेती नियन्त्रण तथा उपकरण प्रयोग गर्ने सहि बिधीका बिषयमा निगमका दक्ष प्राबिधिकहरुबाट  प्रयोगात्मक सहजीकरण गरिएको एशोसिएसनका अध्यक्ष  गैरेले बताए । कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोल पम्पहरुमा आगलागिहुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भइहालेमा अग्नि नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

सो अवसरमा आयल निगमका उप प्रबन्धक अशोक अर्याल, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपाने, निगमका प्राविधिक श्यामलाल खनाल र उमेशजंग रायमाझीलगायतले कार्यक्रमको महत्वका विषयमा चर्चा गरेका थिए । प्रशिक्षणमा व्यवसायी एवं कर्मचारी गरी एक सय १० जनाको सहभागिता रहेको एशोसिएसनका महासचिव हरिराम कसौधनले बताए ।


Author

थप समाचार
x