लुम्बिनी

लुम्बिनीमा ओलीको निर्देशन काम लागेन, अध्यक्षका लागि कँडेल र रिजालको प्यानलमै उम्मेदवारी

इकागज |
भदौ १७, २०८० आइतबार २१:२३ बजे

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म रहेकाे छ । त्यस कारण उम्मेदवार अझै बढ्न सक्ने अनुमान गरिएकाे छ । 

प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राति ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए ।


अध्यक्ष लगायत उपाध्यक्ष, सचिव, उपसचिव सदस्य सबै पदमा आवश्यक संख्याभन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

सोमबार मनोनयनको काम सकिएपछि मतदानको काम सुरु गरिने प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ ।

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइका रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ ।

महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई समर्थन गरेका छन् ।

यो संगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित भएको देखिन्छ । पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसंगै केन्द्रीय सदस्यहरू चेत नारायण आचार्य, भुमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी लगायत कँडेलको पक्षमा लागेका छन् । 

अधिवेशन प्रतिनिधिहरू समेत नेताहरू जस्तै दुई भागमा विभाजित देखिएका छन् ।

प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेका थिए ।
तर, दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ ।


Author

थप समाचार
x