लुम्बिनी

महामारीमा मन्त्री र सांसदलाई 'निन्द्राबाट ब्यूँझाउने' गुल्मीका पत्रकारको अभियान

बिरामीलाई बचाउन अक्सिजन प्लान्ट निर्माणदेखि आईसियू बेड व्यवस्थापनसम्म

बिक्रम खड्का |
जेठ १२, २०७८ बुधबार ९:२० बजे

बुटवल : धेरै मन्त्री, सांसद र नेता जन्माएको गुल्मी जिल्ला स्वास्थ्य सेवाको सुविधाका हिसाबले कहाँ छ ? भन्ने कुरा यसपटकको कोभिड-१९ महामारीले देखायो । गुल्मीका लागि भनेर ठुला ठुला विकासका परियोजनाका चर्चा हुने गरेको थियो । तर गुल्मेलीहरुले महामारीमा न त अक्सिजन पाए । न त आईसियू र भेन्टिलेटरको सुविधा नै । जिल्लालाई माहामारीले चारैतिरबाट घेरेको थियो । 

उपचारका लागि याचना गर्दै जिल्ला अस्पताल तम्घासमा बिरामीहरुको लस्कर लाग्न थाल्यो । एक दिन, दुई दिन, तीन दिन । यसरी दैनिक बिरामी थपिदै गए । तर न पर्याप्त बेड थिए, न त प्रविधि र जनशक्ति नै । गाउँ गाउँबाट उपचारका लागि सदरमुकाम तम्घासमा रहेको जिल्ला अस्पतालमा आएका बिरामीहरु गेटमै ढले । अक्सिजन र भेन्टिलेटर नभएपछि उनीहरुले ज्यान गुमाउनु पर्‍यो ।


बाच्नका लागि धेरै पैसा खर्चेर काठमाडौँका महंगा अस्पताल धाउनुपर्ने थियो । पैँसा भएकाले त्यो गरेपनि । तर नभएकाले एक मुठ्ठी सास फेर्न नसकेर मृत्युवरण गरे । सिटामोल खरिद गर्न नसक्नेहरुका लागि मृत्युबाहेक अर्को विकल्प थिउन । सोही कारण धेरैले जिल्ला अस्पतालकै गेटमा मृत्यु स्वीकार्नु पर्यो । जसले आफन्तलाई भतभती पोल्यो । त्यो दृश्य हेर्नेको मुटु छिया छिया बनायो ।

अस्पतालमै आएर झण्डै १२ जनाले पछिल्लो एक महिनामा कोभिडले ज्यान गुमाएको जिल्ला अस्पताल गुल्मीको तथ्याङ छ । तर त्यो भन्दा बढि त कोहि घरमै, कोही बाटोमा र केहीले पाल्पा, बुटवल र काठमाडौँसम्म पुगेर आफ्नो ज्यान बचाउन सकेनन् ।

दोस्रो भेरियन्ट आएपछि गुल्मीमा अहिलेसम्म ६८ जनाले ज्यान गुमाइसकेका छन् । तर त्यो भन्दा बढि संख्यामा मृत्यु भएको दावी गरिएको छ । जुन आवश्यक सबै प्रक्रिया नपुगेका कारण तथ्यांकमा समेटिन सकेनन् । जिल्ला अस्पतालमा एउटा आईसियू बेड छैन भने भेन्टिलेटर हुने झन कुरै भएन । जोडजाम गरेर जेनतेन ३१ बेडको कोभिड आइसोलेशन निर्माण गरिएको छ ।

तर उक्त आइसोलेशनमा पनि अक्सिजनको प्रबन्ध गर्न निकै समस्या परेको जिल्ला अस्पताल तम्घासका मेसु डा. उत्तम पाच्यले बताए । ‘एकातिर बिरामी धमाधम थपिए, अर्कोतिर आईसियू र भेन्टिलेटर छैन,  सिकिस्त बिरामीलाई चाहिने अक्सिजन पनि बुटवल र पोख्रराबाट आउने हप्ता दिन लाग्ने भएपछि हामी त निरिह बन्नु पर्‍यो’ उनले भने ।

कसरी शुरु भयो पत्रकारको अभियान ?

नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेशले कोभिड १९ को असर व्यापक बढ्ने आंशकाका साथमा मातहतका जिल्ला शाखाहरुमा आईसोलेशन निमार्ण थाल्न २० बैशाखमा आहवान गर्‍यो । प्रदेश समितिको आग्रह अनुसार जिल्ला जिल्लामा पत्रकार महासंघले आइसोलेशनका विषयमा छलफल थाल्यो । सोही मुताविक गुल्मीमा पनि केहि दाताहरुको पहिचान गरि ५ बेडको आईसोलेशन निमार्ण भयो । महासघका सदस्यहरुलाई प्राथमिकता दिने गरि निर्माण गरिएको आईसोलेशनमा बिरामी थिएनन् । तर जिल्ला अस्पतालको गेटमै बिरामी कोभिडका कारण ज्यान गुमाउन बाध्य थिए ।

आफ्नै कार्यालय नजिकैको अस्पतालमा बिरामी अक्सिजन अभावले मर्न थालेको देखेपछि नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन सहयोग अभियान थाल्यो । देश विदेशमा रहेका गुल्मेलीहरुले आफु सक्दो सहयोग गरे । महासंघले रुपन्देही र पोखरा पुगेर अक्सिजनको प्रबन्ध पनि गर्‍यो ।

अभियानकै क्रममा जिल्लामा अक्सिजन उद्योग नभएको र बाहिरी जिल्लाबाट भरेर ल्याउँदा सम्म बिरामीको मृत्यु हुन थाल्यो । त्यतिमात्र होइन, बाहिर जिल्लामा अक्सिजन भर्न गएको गाडि एक हप्तासम्म पनि जिल्लामा फर्किन नसकेपछि उनीहरुले अक्सिजन अभियानलाई अक्सिजन प्लान्ट निमार्ण अभियानमा रुपान्तरण गरे ।

एक हप्तामै उत्साहजनक रकम जम्मा भयो । अब जिल्लामै प्लान्ट बन्ने पक्का पक्की भएपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद मन्त्री र नेताहरुको पनि ध्यान खिचियो । उनीहरुले पनि सहयोगको प्रतिबद्धता व्यक्त गर्न थाले ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, एमालेका पुर्वमन्त्री गोकर्ण विष्ट, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अभियानलाई सहयोग गर्ने घोषणा गरे । यति मात्र होइन, जिल्लामा अक्सिजन प्लान्ट निमार्णका लागि सरकारले एक करोड बजेट तथा आईसियूसहितको अस्पताल निमार्णका लागि २ करोड विनियोजन गर्ने मन्त्री ज्ञवालीबाट घोषणा भयो । 

पत्रकार महासघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालका अनुसार अहिले महासंघको अभियानबाट ७२ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये ६० लाख रुपैयाँ अक्सिजन प्लान्ट निमार्णका लागि जिल्ला अस्पतालमा हस्तान्तरण भएको छ । बाँकी केहि रकमको अक्सिजन, सिलिण्डर केहि स्वास्थ्य उपकरणहरु किनिएको छ ।  उनले भने, ‘शुरुमा सानो उदेश्य राखेर हामीले अभियान चलाएका थियौं । विस्तारै जिल्लामा समस्या विकराल बन्दै गयो । जिल्लाको स्वास्थ्य संरचना निकै कमजोर रहेको महसुस गरेपछि अभियान ठुलो बनेको हो ।’ 

‘जिल्ला सबै हिसाबले अग्रणी भएपनि स्वास्थ्य पहुँचका हिसाबले निकै पछाडि परेको अनुभव अहिले भएको छ । हाम्रै अभियानले राज्यको पनि आंखां खुलेको महसुस हामीले गरेका छौँ । अब केहि स्वास्थ्य संरचना निर्माण हुनेछन्’ उनले थप अगाडि भने । 

जिल्ला अस्पतालका मेसुले पनि पत्रकारको अभियानले ठूलो सहयोग पुगेको बताए । ‘विपदका बेला नेपाल पत्रकार महासघ गुल्मीले निकै राम्रो काम  गर्‍यो । पत्रकारको अभियानले हामीलाई मात्र होइन, धेरै गुल्मेलीलाई ठुलो गुन लागेको छ । दुईजना विशेषज्ञ चिकित्सकको भरमा सिंगो गुल्मी जिल्लाको कोभिड १९ महामारीको भार थेगिरहेको जिल्ला अस्पताल र स्वास्थ्यकर्मीहरुको याचनाको सुनुवाई पत्रकार महासघबाट शुरु भएको उनको ठम्याई छ ।

त्यसो त नेपाल औषधी ब्यबसायी महासंघ गुल्मीका संस्थापक अध्यक्ष शेरबहादुर थापाले पत्रकार महासंघ गुल्मीले राज्यको आँखा खोलिदिएको प्रतिक्रिया दिए । नेपाल पत्रकार महासंघ गुल्मीको अभियान अन्तर्गत गुल्मी अस्पताल तम्घासलाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गर्ने क्रममा थापाले राज्यले गर्न नसकेको र ध्यान नदिएको कामलाई पत्रकारहरुले अभियान चलाएर राज्यको समेत आँखा खोलिदिएको बताए । 

उनले भने, ‘लामो समयदेखि सांसद र मन्त्री गुल्मीका नेता भएका छन् । तर अहिले पत्रकारले अभियान चलाएपछि बजेटको प्रवन्ध गर्न लागेको छन् । ढिलै भएपनि राम्रो भएको छ । अभियान चलेपछि सरकारी तहबाट केहि अवरोधको प्रयास भने नभएको होइन, गृह मन्त्रालयमार्फत पत्र पढाएर जथाभावी सहयोग उठाउन रोक्न निर्देशन समेत आएको पत्रकार महासंघ गुल्मीका पदाधिकारीहरुले बताए ।

त्यसो त अहिले जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनका लागि नेपाल सरकारबाट १ करोड र अभियानबाट ६० लाखलाई एकमुष्ठ गरी अक्सिजन प्लान्ट खरिद गर्नका लागी ७ दिनको सुचना निकालिएको छ । अक्सिजन प्लान्ट निमार्णका लागि इ–टेन्डर भएसंगै अब निमार्णको काम सुचारु हुने गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाच्यले बताए । 

नेपालको स्वास्थ्य क्षेत्र बलियो नहुदाँ कोभिड महामारीका कारण धेरैले ज्यान गुमाइरहेका छन् । तर अधिकांशले कोभिडका कारण स्वास्थ्य क्षेत्रमा सुधार आउने आशा राखेका छन् । गुल्मीमा रहेको गुल्मी अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेशनमा मात्र सामान्य उपचार भएको थियो । तर यहि अभियानमार्फत सरकारको आँखा उघारिएको छ । पत्रकार महासघ गुल्मीका उपाध्यक्ष रेशम कुवंरले भने, ‘ढिलै भएपनि सरकारको आँखा उघारिएको छ । अब पाँच बेडको आईसीयू स्थापनाका लागि दुई करोड र अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड गरी कुल तीन करोड रुपैयाँ रुपैयाँ बजेट गुल्मीका लागि विनियोजन हुनु पनि सुखद पक्ष हो । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सांसद चन्द्र भण्डारीले नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियान सिंगो देशकै लागि उदाहरणीय काम भएको टिप्पणी गरे । 

‘नेपाल पत्रकार महासंघ परिवार र अक्सिजन अभियानमा जोडिने जिल्लाका सबै पत्रकार तथा सहयोगदाता तपाईहरु सबै बधाईका पात्र हुनुहुन्छ’ उनले भने, ‘तपाईहरुले देशकै उदाहरणीय काम गर्नु भएको छ, मेरो पनि सहयोग रह्यो र रहँदै जाने छ ।’ 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x