लुम्बिनी

दोषीलाई कारबाहीको माग गर्दै डाक्टर र नर्स आन्दोलित : आरोपित भन्थे- हामीसँग मुख्यमन्त्रीको पावर छ !

बिक्रम खड्का |
जेठ १४, २०७८ शुक्रबार ११:३ बजे

बुटवल : स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका डाक्टर र नर्स आन्दोलित भएका छन् । गएरातिदेखि आन्दोलनरत स्वाथ्यकर्मी अझै काममा फर्किएका छैनन् । उनीहरू अहिले पनि अस्पताल परिसरमा छलफल र विरोधमा उत्रिएका छन् ।

राजनीतिक शक्ति र सत्ताको आडमा जोगिँदै आएका व्यक्ति पुनः स्वास्थ्यकर्मीमाथि हातपातमा उत्रिएकाले छानबिन गरी दोषी पाइएमा कानुनअनुसार कारबाही गर्न स्वास्थ्यकर्मीहरूले माग गरेका छन् ।


उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले गएराती डाक्टर तथा नर्समाथि कुटपिट र हातपात गरेका थिए । उनीहरूले अस्पतालको आईसियू लगायतका संरचना समेत तोडफोड गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत चार पाँच जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि अन्धाधुन्द आक्रमण गरेका थिए । 

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो । उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड शुरु गरेका थिए । प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धानअगाडि बढाइएको बताए । मृतकका आफन्तहरूको आक्रमणले चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । 

‘आइसियू कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको छ,’ एक नर्सले भनिन् , ‘पिपिई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्नेजस्ता काम भएका छन् ।’

थप आक्रमण हुनबाट बच्न नर्सहरू भागेर शौचालयतर्फ जाँदा त्यहाँ गएर पनि उनीहरूले आक्रमण गरेको उनको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा आफ्नो ज्यान जोगाउन तीन जना नर्सले छतबाटै हाम फालेका थिए । आक्रमणकारीले नर्स र चिकित्सकको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको पीडितले बताएका छन् । 

‘केही नर्स ज्यान जोगाउनकै लागि अस्पतालको छतबाट पनि हाम फाल्नुप¥यो,’ उनले भनिन् । उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।

रावतका आफन्तले अस्पताल तोडफोड पनि गरेका छन् । पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तोडफोड गरेका छन् । नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीले भेरी अस्पतालको घटना निन्दनीय र निकृष्ट भएको बताईन् । 

‘कोभिडको यस्तो महामारीमा स्वास्थ्यकर्मीले दिनरात नभनेर बिरामीको सेवा गरिरहेका छौं, तर स्वास्थ्यकर्मीमाथि नै यस्तो अमानविय घटना हुन्छ, साह्रै दुःखी भएका छौं,’ उनले भनिन् । छानविन समिति माथि नैं शंका रहेको अध्यक्ष केसीको भनाई छ । 

भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालको कोभिड वार्डमा भएको घटना एकदमै दुःखद र अमानविय कार्य भएको बताएका छन् । भेरी अस्पतालको कोभिड वार्डमा यसअघि गत वैशाख अन्तिम सातातिर पनि स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो ।

आरोपित भन्थे, – हामीसँग मुख्यमन्त्रीको पावर छ !

बिरामीको मृत्यु हुनुमा चिकित्सक स्वास्थ्यकर्मीहरूको लापरवाही भएको भन्दै बिरामीका आफन्तहरू आक्रोशित भएका थिए । अस्पतालभित्रै रहेका एक कुरूवाले फोन गरेर बिरामीको मृत्यु भएको भन्दै अरू आफन्तलाई अस्पताल आइहाल्न भनेका थिए । त्यसको केहीबेरमा उनीहरूले चिकित्सकमाथि आक्रमण शुरु गरेका थिए । 

पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन् । राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन् । रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए । 

एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो । उनी एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन् । आक्रमण गर्ने व्यक्तिले आफुहरूसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पावर भएको बताएको घटनामा घाईते भएका एक स्वास्थ्यकर्मीले बताए । उनले भने – ‘उनीहरूसँग ठुला मान्छेको पावर रहेछ, त्यसैले कारबाही हुनेमा हामीलाई शंका छ ।’

घटनापछि राती अबेरसम्म चलेको छलफलबाट घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति बनाइएको जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।

आक्रमणमा संलग्न रहेका मानबहादुरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको उनले सुनाए । अन्य व्यक्ति भने फरार रहेको बताइएको छ । ‘आक्रमणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएका छौँ, पीडित स्वास्थ्यकर्मीले सरकारद्वारा हालै जारी गरिएको ऐन अनुसार कारबाही गर्नुपर्ने माग गर्नु भएको छ,’ उनले भने । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x