लुम्बिनी

किसानहरुलाई फूल टिप्ने चटारो, आयातित फूलका कारण बजार नपाउने चिन्ता

विक्रम खड्का |
कात्तिक २२, २०८० बुधबार १५:३८ बजे

बुटवल - नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । फूलहरुको पर्वका रुपमा समेत चर्चा गरिने तिहारका लागि फूल उत्पादन गर्ने किसानहरूलाई फूल टिप्न र माला बनाउने चटारो छ । 

नेपाल फूलका लागि करिब आत्मनिर्भरताको अवस्थामा पुगेको छ । तर भारतीय बजारबाट नेपाल आउने विभिन्न किसिमका फूल र प्लास्टिकको मालाका कारण नेपाली किसानहरू मारमा छन् । भारतबाट आउने फूलहरु नेपाली उत्पादन भन्दा केही सस्तो हुने गर्दछ । त्यस्ता फूलहरु रासायनिक मल राखेका कारण गुणस्तरहीन हुने दाबी नेपाली किसानको छ । अर्को कुरा भारतमा उत्पादन लागत कम हुने कारणले पनि नेपाली किसानहरूले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । सानो परिमाणमा खेती गर्ने नेपाली किसानहरू लागत नउठ्ने हो कि भन्ने चिन्तामा छन् ।


पछिल्लो समय नेपालमा फूल खेती गर्नेक्रम भने बढ्दो छ । बुटवल उप–महानगरपालिका वडा नम्बर १५ मा रहेको कृषि अध्यापन गराउने विद्यार्थीले सुरुवात गरेको कृषि फार्ममा अहिले मखमली र सयपत्री फूलका माला तयार छन् । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार फूलको पर्वका रूपमा समेत चिनिन्छ । बुटवल १५ मा रहेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिचर्स सेन्टरमा ओजेटिको लागि आएका कृषि पढ्ने विद्यार्थीहरू अहिले धमाधम फूलको माला तयार गर्न व्यस्त छन् ।  सो फार्मका म्यानेजिङ्ग डाइरेक्टर राजेश कुँवरका अनुसार मखमली र सयपत्री फूलले तिहार कुरिरहेको छ । व्यावसायिक रूपमा यो क्षेत्रमा नै ३५ सय बढी सयपत्री फूलको माला उत्पादन गर्ने योजनासहित फार्ममा अहिले काम भइरहेको हो । १० हजार किलो फूल उत्पादन हुने अनुमान छ । निर्माण गरिएको फूलका माला स्थानीय कृषि सहकारीले निर्माण गरेको कोल्ड चेम्बरमा भण्डारण गरेर राखिएको छ । १५ कठ्ठा क्षेत्रफलमा अहिले व्यावसायिक सयपत्री र मखमली फूल खेती उनीहरूले गरेका हुन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ चम्कीपुरमा रहेको यो फार्ममा फूल खेतीको अलावा ड्रागन खेती र अन्य फलफूल पनि खेती गरिएको छ । जग्गा भाडामा लिएर व्यावसायिक फर्म सुरुवात गरेका हुन् । बुटवलमा फूल खेती गर्दै आएका उनीहरूले विभिन्न स्थानमा सयपत्री खेती तालिम समेत दिँदै आएका छन् । उनीहरूले अहिले रोल्पा, अर्घाखाँची, दाङ जिल्लामा पनि फूल खेती त्यहाँको समूहमार्फत गर्दै आएका छन् । २ लाख लगानीमा यो पटक फूल खेती गरेका उनीहरूले तिहारको बेला सबै फूल खपत भएमा आम्दानी हुने अपेक्षा गरेका छन् । अहिले सम्म करिब ६० देखि ७० हजारसम्मको फूलको माला बिक्री भइसकेको छ । 

उत्पादन गरेको फूलको भण्डारणका लागि समस्या छ । उनीहरूले उत्पादन गरेको माला भण्डारण गरी राख्नको लागि कोल्ड चेम्बर, कोल्ड स्टोरको अभाव छ । जसको कारण पनि पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको हो । उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा लगेर राख्ने गरेका छन् । तर सो चेम्बर सानो छ । भाडामा लिएर उत्पादित माला राख्दा यसको लागत समेत बढ्ने गरेको किसानको गुनासो छ ।  उत्पादन भएको फलफूल र मार्केटिङ्गको लागि समेत ल्याइएको फलफूल राख्नको लागि सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरिएको फार्म सञ्चालकहरू बताउँछन् ।

उत्पादन भएको फूलको विक्रीका लागि विभिन्न होलसेल व्यवसायीहरूले अहिले पनि बुकीङ्गको लागि माग गर्ने गरेका छन् । तर फार्म सञ्चालकले भने आफैं बुटवल बजारमा लगेर फूलको माला बिक्री गर्ने योजना बनाएका छन् । अन्यत्र भन्दा मालामा २० रूपैयाँ सस्तो र किलोमा ५० रूपैयाँ सस्तोमा फार्मबाट नै बिक्री गर्ने समेत व्यवस्था गरिएको छ । 

प्रबन्ध सञ्चालक राजेक कुँवर भन्छन्–‘किसानको पिडा किसान लाई नै थाहा हुन्छ, हामी यो पटक आफै बुटवलमा गएर माला बिक्री गर्ने योजना बनाएका छौं, हेरै के हुन्छ ।’ फार्मबाट ५ सय देखि ५ सय ५० रूपैयाँ प्रतिकिलोमा सयपत्री फूल बिक्री भइरहेको छ । यस्तै फोकसले कट फलावार समेत बिक्री गर्दै आएको छ । स सानो पिसमा विभिन्न सभा समारोहमा उनीहरूले कट फल्वारको माला, स्वागत गुच्चा लगायतका डेकोरेसनको लागि समेत माला उपलब्ध गराउँदै आएका छन्  । फोकस मल्टी एग्रो कन्र्सनमा सञ्जय अर्याल, किरण तिमसीना, सरोन भट्टराई सञ्चालक हुन । उनीहरू सबै एमएस्सी एग्रीकल्चर पढेका विद्यार्थीहरु हुन ।

भारतीय फूल र पलाष्टिकको मालाका कारण समस्या 

नेपालमा पुष्प व्यवसाय र उत्पादन फस्टाउँदै गएको भनिएपनि हरेक वर्ष करोडौं मूल्यका फूल तथा माला भित्रिने गरेको छ । सबैभन्दा बढी फूल तथा मालाको माग हुने तिहारका लागि यो वर्ष पनि रुपन्देही आसपासका क्षेत्रमा व्यवसायीहरूले भारतबाट माला भित्र्याइसकेका छन् । उनीहरूका अनुसार रुपन्देहीमा तिहारका लागि मात्रै करिब ३० हजार बढी माला आयात गरी सित भण्डारणमा राख्ने काम भइसकेको छ । कोरोना महामारीले गत वर्ष कम माग भएपनि यो वर्ष फूल तथा मालाको माग बढ्ने हुँदा तिहारसम्ममा ८० हजार बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरूको अनुमान छ ।

सीमा नाकामा फूल आयातका लागि सरकारले केही कडाइ गरेपनि विभिन्न माध्यमबाट अवैध तरिकाले समेत फूल भित्रिने गरेको व्यवसायीहरु स्वीकार गर्छन् । बेलहिया भन्सार कार्यालयले भने भारतबाट फूल तथा माला भित्र्याउने क्रममा अनिवार्य क्वारेन्टिन प्रमाणपत्र लगायतका कानुनी प्रक्रियाहरूलाई कडाईकासाथ पालना गराइएको बताउँछ । यसरी भारतबाट भित्रिने माला प्रति गोटा ८० देखि ९० रूपैयाँसम्म पर्ने गर्दछ । हरेक वर्ष तिहारमा रुन्पदेहीमा भारतबाट ८०÷९० हजार फूलका माला भित्रिने गरेको व्यवसायी हरि कुवंर बताउँछन् । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेका कारण फूल र मालाको मूल्य बढ्ने अवस्था रहेको व्यवसायीहरूको दाबी छ । 

सियारीमा पलाष्टिकको माला प्रतिबन्ध  
रुपन्देहीको सियारी गाउँपालिकाले दिपावली लगायतका चाडपर्वहरूमा प्लास्टिकका फूलमालाहरू तथा आयातित फूलमालाहरू प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय स्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिकाले सबैलाई आग्रह गरेको छ । पालिका अध्यक्ष थानेश्वर घिमिरेले पालिकामा आयतित मालाको पुर्णरुपमा प्रतिबन्ध लगाइएको भन्दै त्यस्तो बिक्री वितरण गरेको पाईएमा जफत गर्ने बताए । रुपन्देहीमा १६ वटा पालिका रहेका छन् ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x