लुम्बिनी

बुटवलमा विद्यालय खोल्न अभिभावक र चिकित्सकको अनुमति चाहिने

बिक्रम खड्का |
मंसिर ९, २०७७ मंगलबार १७:२९ बजे

बुटवल : बुटवल उपमहानगरपालिकाले तल्लो कक्षाका विद्यार्थीहरूलाई घरमै राखेर विद्यालयहरू सञ्चालन गर्ने भएको छ ।  विद्यालय खुले पनि नर्सरीदेखि २ कक्षासम्मका बालबालिकालाई तत्काल विद्यालय नबोलाउने नगरपालिकाको तयारी छ । ठूला कक्षाको अवस्था हेरेर मात्र साना कक्षाबारे निर्णय लिने उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए । 

साना कक्षाको लागि अनलाइन कक्षा पढाउन र होमभिजिट गर्न भनेको खनालले बताए । उपमहानगरले थोरै विद्यार्थी भएका केही प्रावि तहका विद्यालय खोल्न अनुमति दिइसकेको छ । 


अरु विद्यालयहरूको लागि कार्ययोजना र विद्यालयको अवस्थाबारे अध्ययन गरेर मात्र निर्णय गर्ने उपमहानरले जनाएको छ । कोरोना संक्रमणको कारण लामोसमयसम्म बन्द रहेका विद्यालय खोल्ने तयारी स्वरुप बुटवल उपमहानगरले विद्यालय सञ्चालकहरुसँग कार्यायोजना माग गरेको थियो। 

८ गतेसम्म कार्यायोजना बुझाउन आग्रह गरेपछि धेरै विद्यालयले विद्यालय खोल्न विकल्पसहितको कार्यायोजना पेश गरेका छन् । विद्यालयहरुले पठाएको कार्ययोजना अध्ययन गरिरहेको र सबै कुरा अध्ययन गरेर विद्यालय खोल्ने बारे निर्णय लिने खनालले जानकारी दिए । सामुदायिक विद्यालयमा उपमहानगरले पनि सहयोग गर्ने र संस्थागत आफैले गर्नुपर्ने उनको भनाइ छ । 

विद्यालय खोल्न भन्दा अघि अभिभावकको सहमति लिनुपर्ने खनालले बताए। ‘विद्यालयहरुले अझै अभिभावकहरुसँग सहमति लिएका छैनन् । बैठक बोलाएर विद्यालय खोल्न लिखित सहमति लिनुपर्छ’–उनले भने–‘हामीले डाक्टर, नर्स, सिनियर अहेवको टोली खटाएका छौं । उनीहरुलाई बोलाएर मापदण्ड देखाउनुपर्यो ।’ 

बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १४ देखि १९ सम्मका वडामा विद्यालय खुलिसकेको छ । शहरी क्षेत्र रहेको १ देखि १३ सम्मका वडाका विद्यालय अझै खुलेका छैनन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x