लुम्बिनी

सत्तारुढ सांसद नै अनुपस्थित भएपछि लुम्बिनीमा संकट, बजेट फेल हुने अवस्था

बिक्रम खड्का |
असार ३१, २०७८ बिहीबार १६:२७ बजे

बुटवल : सत्ता पक्षकै सांसद अनुपस्थित भएपछि लुम्बिनी प्रदेश सरकारको बजेट फेल हुने अवस्था आएको छ । सत्तापक्षले ह्वीप नै लगाएर बजेट पास गर्ने बताए पनि एकजना सांसद हिजोदेखि सम्पर्कविहीन भएका छन् । सरकारले गत असार १ गते प्रस्तुत बजेटमाथि छलफल भई पारित गर्ने अन्तिम तयारी भइरहँदा सूर्य चिन्ह लिएर निर्वाचित स्वतन्त्र सांसद अजय शाही बैठकमा उपस्थित छैनन् । उनलाई खोज्न सरकारी सम्पूर्ण शक्ति लागिपरेको छ । 


बैठकमा सहभागी हुने भन्दै काठमाडौंबाट मंगलबार बुटवल आइपुगेका नवलपरासी पश्चिमबाट निर्वाचित सांंसद अजय शाही अस्वस्थ भएको भन्दै पुनः बुटवल बाहिर गएका हुन् । उनी विपक्षी दलहरूलाई सहयोग गर्ने उदेश्यले सम्पर्क बाहिर पुगेको सत्तापक्षका नेताहरूकै दाबी छ । शाहीको पारिवारिक श्रोतका अनुसार उनी अस्वस्थ भई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा उठेका प्रश्नहरूमा अहिले पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् । बजेट पास  हुने वा नहुने आजै टुंगोमा लैजाने कार्यसूचीरहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रदेशसभामा उपस्थित  बहुमत सदस्यहरूको ध्वनी मतका आधारमा पारित गर्नुपर्ने कानुनी व्यवस्था भएकोले शाहीको अनुपस्थितले प्रदेश सरकार अप्ठेरो परेको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x