लुम्बिनी

लुम्बिनीको सत्ता कसरत

प्रतिपक्षी सांसदहरूलाई कपिलवस्तुबाट लुम्बिनीमा सारियो

रिटमाथी सुनुवाइ नभएपछि सत्तापक्ष अलमलमा

बिक्रम खड्का |
साउन २६, २०७८ मंगलबार २०:० बजे

बुटवल ; सत्ता परिवर्तनको अन्तिम खेलमा रहेका लुम्बिनीका राजनीतिक दलहरु एकपछि अर्को रणनितिमा उत्रिएका छन् । सत्तापक्ष अदालतको शरणमा परेको छ भने विपक्षी गठबन्धनलाई बहुमत बचाउन हम्मेहम्मे परेको छ ।

त्यसका कारण उनीहरुले दिनैपिच्छे सांसदहरुलाई चराले गुड सारेजसरी सार्नु परेको छ । सत्ताको आडमा आफ्ना सांसदहरु किनबेच गर्ने, अपहरण र बन्धक बनाउने भएकोले पनि एकै स्थानका होटलमा राखिएको विपक्षी गठबन्धनका एक सांसदले बताए  ।


सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखिएका विपक्षी गठबन्धनका ४१ सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको ’लुम्बिनी बुद्ध गार्डेन’मा सारिएको हो । बुधबार आह्वान गरिएको विशेष अधिवेशनका लागि तयारी एवं छलफल गर्न पायक पर्ने र प्रदेशसभा सदस्यहरु लुम्बिनी क्षेत्रमा भ्रमण गर्न पनि मिल्ने भएकाले सबै सदस्य लुम्बिनीमा राखिएको विपक्षी गठबन्धनका नेता तथा नेपाल कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । प्रदेशसभा सदस्यसहित गठबन्धनका सबै नेताहरुले मंगलबार दिनभर छलफल गरेका छन् । 

बुधबारको अधिवेशनमा सत्ता पक्ष सहभागी नभए पनि प्रक्रियाबाट सरकारको छिनोफानो गर्ने खानले बताए । विपक्षी गठबन्धनले बुधबार नै सबै टुंग्याउने तयारी गरेको छ । सत्ता पक्ष भने सर्वोच्चको आदेश नआएपछि अलमलमै परेको छ । प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएपनि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुन सकेन ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले सर्वोच्चको आदेश कुरेको बताए । उनले फैसला नआएकोले थप रणनिति बनाउन बुधबार बिहान ८ बजे संसदीय दलको बैठक बस्ने बताए । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । सरकारलाई सत्ता बचाउन बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । 

विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x