कर्णाली

सुर्खेतका स्थानीय तहको बजेट : अधुरा  योजनालाई पूरा गर्ने लक्ष्य

इकागज |
असार ११, २०७९ शनिबार १६:४६ बजे

सुर्खेत- सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र आय-व्ययको वार्षिक अनुमानसहितको बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले सडक, खानेपानी पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शुक्रबार प्रमुख/अध्यक्षमार्फत नीति तथा कार्यक्रम र उपप्रमुख/उपाध्यक्षमार्फत वार्षिक बजेट सार्वजनिक गरेका हुन् । 

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्‍व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले केही योजनासहित अधिकांश पूरा योजनालाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी र चिंगाड गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेका छन् । वीरेन्द्रनगरले एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रूपैयाँ ल्याउँदा चिंगाडले ४९ करोड ३८ लाख ९६ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।


वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालले बढी चाप भएका मङ्गलगढी चोक र एरीचोकमा आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, सिटी बसपार्क विस्तार गर्ने, भेरी लिफ्टिङ आयोजनाका लागि संघ, प्रदेश र विकास साझेदारसँग सहकार्य गर्न कोष स्थापना गर्ने, तत्कालको खानेपानी समस्या समाधानका लागि ओभरहेड ट्याङ्की, डिप बोरिङका योजना सञ्‍चालन गर्ने कार्यक्रम समावेश गरिएको बताए । उनका अनुसार वीरेन्द्रनगरले पूँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार ५०० रूपैयाँ, चालूतर्फ एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार रूपैयाँ र वित्तीय व्यवस्थापनतर्फ तीन करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । क्रमागत र अधुरा रहेका योजनालाई पूरा गर्ने गरी बजेट ल्याएको नगरप्रमुख ढकालको भनाइ छ । 

जिल्लाको दोस्रो ठूलो नगरपालिका गुर्भाकोटले आर्थिक वर्ष २०७९/८० का लागि ९५ करोड ५८ लाख ३३ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मैना विकले प्रस्तुत गरेको बजेटमा चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार रूपैयाँ तथा पूँजीगततर्फ २४ करोड ९९ लाख  रूपैयाँ बजेट विनियोजन भएको छ । उपप्रमुख विकले पूर्वाधार निर्माणाधीन आयोजनालाई आगामी वर्ष पूरा गर्ने लक्ष्य राखिएको बताइन् ।

लेकबँसी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ रूपैयाँ बजेट ल्याएको छ । चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ तथा पूँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार १९२ बजेट विनियोजन गरिएको छ । चिंगाड गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ४९ करोड ३८ लाख ९६ हजार ८९६ रूपैयाँको बजेट सार्वजनिक गरेको अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिए । चिंगाडले वडा नं ४ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रमा खुला जुलोजिकल तथा बोटानिकल पार्क निर्माणलगायत योजना समेट्दै चालुतर्फ २८ करोड ७७ लाख १० हजार तथा पूँजीगततर्फ १० करोड ३९ लाख ७८ हजार ४० रूपैयाँ बजेट विनियोजन गरेको हो । भेरीगङ्गा नगरपालिकाले ६७ करोड पाँच लाख ८१ हजार ७७९ रूपैयाँ, सिम्ता गाउँपालिकाले ५९ करोड ३४ लाख रूपैयाँको बजेट सभासमक्ष पेस गरेका छन् । 

त्यस्तै, पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । पञ्चपुरीका उपप्रमुख मुक्तिदेवी रेग्मीले आगामी आर्थिक वर्षका लागि नगरसभामा ८६ करोड २० लाख ४८ हजार ६५१ रूपैयाँ बजेट प्रस्तुत गरिन् । बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६२३ रूपैयाँर चौकुने गाउँपालिकाले ५७ करोड ६८ लाख ४४ हजार रूपैयाँ बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले क्षेत्रगत विनियोजनतर्फ सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेका छन् । 

त्यस्तै, लक्षित वर्ग विशेष, पर्यटन प्रवर्द्धन, विभिन्‍न कार्यक्रममार्फत प्रोत्साहन, अनुदान, विद्युतीकरण कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन् । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि गाउँ/नगरसभाका सदस्यले छलफल गर्नाका साथै सुझावसहित पारित भएपछि उक्त बजेट साउन १ गतेदेखि लागु हुनेछ ।


Author

थप समाचार
x