कर्णाली

चुनावी आमसभा

कर्णालीका एजेन्डाभन्दा आलोचनामै रमाए शीर्ष नेता

लक्ष्मी भण्डारी |
मंसिर १, २०७९ बिहीबार २०:३६ बजे

सुर्खेत- गएको आइतबार नेकपा एमाले  सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिकांश समय विपक्षी दलका नेताहरूको कटाक्ष गर्नमै बिताए । ओलीले आफ्ना एजेन्डाभन्दा सत्तारूढ गठबन्धन दलहरूको विरोध गर्नमै धेरै समय खर्चिए ।

आधा घण्टासम्म चुनावी सभालाई सम्बोधन गरेका ओलीले अधिकांश समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरे । ओलीले स्वार्थका लागि गरिएको गठबन्धनको आयु लामो समयसम्म नरहने बताए । उनले गठबन्धनको आयु यसै चुनावसम्म मात्रै रहेकोले प्रतिपक्षी दलको नेताको बस्ने भनेर सल्लाह गर्न आग्रह गरे । 


‘देउवा र प्रचण्डमध्ये प्रतिपक्षी दलको नेता को हुने हो ?’ प्रचण्डलाई लक्षित गर्दै उनले भने,  ‘उनको बिचौलिया राजनीति अब सकियो ।’ ओलीले उक्त दिन वीरेन्द्रनगरसहित एकै दिन कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधनका क्रममा अर्काे दललाई कटाक्ष र आलोचनामै अधिकांश समय बिताए । सम्बोधनका क्रममा उनले कर्णालीको समृद्धिको विषयलाई उठान गरेनन् । नत यहाँका विकासका कुरा गरे । 

ओलीले सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गरेको तीन दिनपछि सुर्खेतको मेहलकुनामा आएर सम्बोधन गर्दै माओवादीका अध्यक्ष दाहालले पनि ओलीको कटाक्ष गर्नमै समय बिताए । उनले ओलीको स्वार्थ प्रवृत्तिको कारण उनीसँग कुनै सहकार्य नहुने ठोकुवा गरे । उनले संविधानको मर्मविपरीत ओलीले संसद् विघटन गरेको औँल्याए । त्यसैगरी काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा ओलीको विरोध गरे ।

चुनाव नजिकिँदै गर्दा कर्णालीका जिल्लाहरूमा दैनिकजसो राजनीतिक पार्टीका चुनावी आमसभाहरू भइरहेका छन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले जनसभाहरू गरिरहेका छन् । जिल्ला तथा प्रदेश स्तरमा आयोजना हुने चुनावी सभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गरे । कर्णालीमा काँग्रेस, माओवादी र एमालेका अध्यक्षहरू नै पटक-पटक कर्णालीमा आएर सम्बोधन गरेका छन् । 

प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी आयोजित चुनावी सभामा शीर्ष नेताहरूले पार्टीका राम्रा एजेन्डाभन्दा पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्नमै व्यस्त छन् । कर्णालीको समृद्धि गर्ने एजेन्डाभन्दा एक अर्को नेतालाई आरोप–प्रत्यारोप गर्नमै समय खर्चिने गरेका छन् । आफ्नो पार्टीको घोषणापत्र तथा योजना सुनाएर जनमत बटुल्नुको साटो एक अर्काे दलका नेताहरू आलोचनामा बढी रमाउन थालेका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार यतिबेला मंसिर ४ गते हुने निर्वाचनका लागि दोस्रो चरणको चुनावी प्रसारप्रसार चलिरहेको छ । पहिलो चरणमा घरदैलो सकेका राजनीतिक दलहरू अहिले चुनावी सभामा व्यस्त छन् । समयको चापका कारण शीर्ष नेताहरू एकै दिन फरक–फरक जिल्लाका तीन–चार वटा सभामा पनि सहभागी बन्ने गरेका छन् । शीर्ष नेताहरूलाई चुनावी सभामा भाग लिन दैनिक दौडधूप छ ।

उम्मेदवारहरू चुनावी परिणाम आफ्नो पक्षमा पार्न तथा मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । कर्णाली प्रदेशमा प्रतिनिधि सभाका १२ र प्रदेश सभाका २४ वटा निर्वाचन क्षेत्र छन् । 


Author

थप समाचार
x