कर्णाली

औषधि छैन कर्णालीमा, उपचार पाउनबाट वञ्चित छन् गाउँवासी

इकागज |
माघ ५, २०७९ बिहीबार १८:४६ बजे

फाइल तस्बिर

सुर्खेत/भेरीगङ्गा- मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा गएका थिए । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराए। आँखासम्बन्धी समस्या लिएर गएका उहाँले त्यसको औषधि भने पाएनन् । औषधि नपाएपछि उनी जाँच गराएर घर फर्किए । स्थानीय स्वास्थ्य संस्थामा सरकारले दिने सबै प्रकारका औषधि अहिले पनि पाउन समस्या रहेको उनी बताउँछन् ।    
    
उनी भन्छन्, “एन्टिबायोटिक्स, आँखाको औषधिलगायतका सरकारले निःशुल्क प्रदान गर्ने सबै औषधि पाउन सकिन्न । विगतदेखिकै समस्या अहिले पनि कायम छ ।” नजिकै सरकार आएपछि ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्य सेवा सहज पाउने आशा जुन थियो, त्यो पूरा नभएको उनको भनाइ छ । “अहिले नजिकै सरकार आएको छ तर हिमाली जिल्लामा औषधि नपाइने अवस्था कायमै छ । अस्पताल छन्, डाक्टर छैनन्, डाक्टर छन् औषधि छैन ।” उनले भने ।
    
उनी मात्रै होइन कर्णालीका हिमाली जिल्लाका नागरिकको समस्या यस्तै छ । उनीहरूले अहिले पनि सहजरूपले स्वास्थ्य उपचार पाइरहेका छैनन् । पालिकाअन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा औषधि नहुँदा बिरामी मर्कामा पर्ने गरेका हुन् । सरकारी स्वास्थ्य संस्थामा ७२ प्रकारका औषधि निःशुल्करूपमा पाइन्छ । तर औषधि नै नभएपछि नागरिक किनेर औषधि पाउँदैन ।   
    
स्वास्थ्य संस्थामा स्थानीय सरकारबाट खरिद गरी वितरण गर्ने औषधि हालसम्म खरिद भएको छैन । खत्याड गाउँपालिकाअन्र्तगत गुम्था हेल्थ पोस्टका इन्चार्ज मानबहादुर रोकाय गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा समयमै नआउने समस्या रहेको बताउँछन् । “पहिलेको जस्तो औषधि नपाउने अवस्था त होइन, तथापि गाउँपालिकाले समयमै औषधि खरिद गरी नपठाउँदा औषधि नपाएको नागरिकको गुनासो सही हो, यसमा सरकारले नै पहल गर्नुपर्छ ।” उनले भने । 
    
भौगोलिक विकटता र अन्य प्राविधिक समस्याले गर्दा समयमै स्वास्थ्य संस्थामा औषधि नआउने गरेको भन्दै कहिलेकाहीँ औषधि अभाव हुने गरेको उनले सुनाए । हिमाली जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले सबै प्रकारका औषधि सहजै पाउन सक्ने अवस्था छैन । “औषधि नपाइने होइन पाइन्छ, तर सरकारले निःशुल्क दिने सबै प्रकारका औषधि भने पाउन मुस्किल छ ।” उनले भने ।
    
जाजरकोटका स्वास्थ्य संस्थामा पनि बिरामीले औषधि नपाएको गुनासो गरेका थिए । छेडागाड नगरपालिका नगर अस्पतालमा कार्यरत अहेव रामप्रसाद शर्माले औषधि खरिद प्रणालीबाट हुने भन्दै पालिकामा बजेट अभावले गर्दा पनि औषधि खरिद हुन नसकेको बताए । उनका अनुसार औषधि अभावभन्दा पनि खरिद प्रक्रियामा ढिलाइ भएको हो । “स्थानीय तहले औषधि खरिद प्रक्रियामा लिएको भए पनि बजेट अभावले समस्या हुँदा औषधि अभाव हुन गएको हो ।” उनले भने ।
    
उनका अनुसार सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा अझै पनि बच्चाका लागि पारासिटामोल, एन्टिबाइटिक्स, आँखाको औषधि, जीवनजललगायत सरकारले निःशुल्क दिने औषधिको अभाव हुने गर्दछ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले भने औषधिको अभाव नरहेको दाबी गरेको छ ।    
    
स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले केही जिल्लामा औषधि अभाव भएको भन्ने सूचना आएकाले औषधि पठाउने काम भइरहेको जानकारी दिए । “जाजरकोटलगायत जिल्लामा औषधि अभाव भन्ने सूचना आएको छ । हामीसँग औषधि अभाव छैन”, उनले भने, “औषधि अभाव भए नभएको बारेमा हामीले रिपोर्टिङ गरिरहेका छौँ, ती ठाउँमा औषधि पठाउने प्रबन्ध मिलाउँछौँ ।” 



Author

थप समाचार
x