कर्णाली

लामो समयदेखि कर्णाली संसद निष्क्रिय

लक्ष्मी भण्डारी |
फागुन २, २०७९ मंगलबार १८:५ बजे

सुर्खेत । कर्णालीका नयाँ सरकार सञ्चालन भएको दुई महिना पुग्न लागिसक्दासम्म पनि संसद निष्क्रिय बनेको छ । कर्णाली प्रदेशसभा बैठक लामो समयदेखि स्थगित भएको हो । 

जसले गर्दा प्रदेशसभा ‘विजनेश’ विहीन बनेको छ । अघिल्लो बैठक बसेको झण्डै एक महिना पुग्न लाग्दासम्म पनि अर्काे बैठक बस्न सकेको छैन । सरकारले काम दिन नसकेपछि तीन सातादेखि संसद् बैठक बस्न नसकेको हो । यसरी लामो समयदेखि प्रदेशसभा बैठक स्थगित हुँदा सरकार र संसद आलोचित बनेका छन् । 


दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएयता सभाको ६ वटा बैठक सम्पन्न भएका छन् । तर ती बैठकहरु कानुन निर्माण तथा नागरिकसँग सरोकार राख्ने कुनै पनि कामहरु हुन सकेका छैनन् । सरकार सञ्चालन तथा सभामुख र उपसभामुखको चयनसँगै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रयोजन भएका छन् ।

पहिलो कार्यकाल सकिएसँगै उक्त कार्यकालमा दर्ता भएका विधेयकहरू स्वतः निष्क्रिय भइसकेका छन् । त्यसैगरी सरकारले नयाँ विधेयक बनाएर संसदलाई टेबुल गर्न सकेको छैन । यस्तै संसदका विषयगत समितिहरू गठनसमेत हुन सकेका छन् । सभामा चार वटा विषयगत समितिहरू रहन्छन् । अहिलेसम्म पनि समिति चयनको प्रक्रिया नै सुरु भएको छैन । 

कर्णालीलाई रोग, भोक र अभावबाट मुक्त गर्ने एजेन्डा बोकेर चुनाव लडेका नयाँ जनप्रतिनिधिहरु सरकार गठनमै व्यस्त भएपछि कर्णाली सरकार अहिले आलोचित बनेको छ । 

कर्णाली प्रदेशसभाका सचिव जिवराज बुढाथोकीले सरकारले विजनेस नल्याएका कारण संसद बैठक सञ्चालन नभएको जानकारी गराए । ‘सरकार निर्माण भयो पदीय जिम्मेवारी विभाजन भएको छ’ बुढाथोकीले भने, ‘सरकारले विजनेस ल्याएको छैन जसका कारण संसद बैठक अवरुद्ध भएको छ ।’ त्यसैगरी विषयगत समितिहरु प्नि गठन गर्न बाँकी रहेको उनले जानकारी गराए ।

यता सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले फागुनको पहिलो सातादेखि संसद् नियमित गर्नेगरी तयारी गरेको जानकारी दिए । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रैबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ ।


Author

थप समाचार
x