कर्णाली

मुख्यमन्त्रीकाे जवाफ नआएपछि एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध

इकागज |
साउन ३०, २०८० मंगलबार १६:५४ बजे

सुर्खेत- कर्णाली प्रदेश सभाको मंगलबार बसेको बैठक अवरुद्ध भएको छ । नागरिकका समस्याप्रति सरकार जिम्मेवार नबनेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गरेको हो । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुवातमै एमालेका सांसद टेकराज पछ्याईले मुख्यमन्त्रीले जवाफ नदिँदासम्म सदन अवरुद्ध गरिने बताए । ‘नागरिक उड्डयनले गरेको निर्णय प्रति जिम्मेवार भएर समन्वय गरिनुपर्छ यी समस्याका समाधान नहुँदासम्म सदन अगाडि बढ्न दिँदैनौं,’ उनले भने, ‘यी विषयको जवाफ मुख्यमन्त्रीले दिनुपर्छ ।’


एमालेका संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूले राखेका विषयको जवाफ विभागीय मन्त्री नभई सरकारको नेतृत्व गर्ने व्यक्तिले दिनुपर्ने बताए । ‘हामीले राखेका विषयहरूको कुनै एक व्यक्ति वा मन्त्रालयले जवाफ दिन सक्दैन सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीले नै यसको व्यवस्था गर्नुपर्छ,’ कँडेलले भने, ‘हामीले उठाएका विषयहरूका बारेमा हिजोको बैठकमा पनि ध्यानाकर्षण गराएका थियौँ ।’

संघीय सरकारले गरेका निर्णयको विषयमा दिनदिनै कर्णालीका नागरिकको ज्यान गएको भन्दै कँडेलले सरकारको ध्यानाकर्षण गराए । ‘जनताको ज्यान जोखिममा रहेको छ । यस्तो अवस्थामा हामीले सरकार खोज्दै थियौँ तर, सरकार देखा पर्ने अवस्था छैन,’ उनले भने, ‘सरकार उपस्थित भएर जवाफ दिने गरी सरकारले छलफल गरिनुपर्छ । हामीले कुरा उठाएजस्तो मात्र हुने सरकार आफ्नै गतिमा हिँडिरहने मात्र हुन्छ ।’

सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुई वटा विषयमा समस्या समाधानको योजनासहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

माग राख्ने क्रममा उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबारै दिएका थिए । बाढी, पहिरो, डुबान र हवाई सेवा उडान सम्बन्धी समस्या समाधानको योजनासहित सभामा प्रस्तुत हुनुपर्ने माग राखिएको छ । अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ । त्यस सम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने प्रतिपक्षी दलको माग छ । साथै, संसद् बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।


 


Author

थप समाचार
x