कर्णाली

एउटै सडक देखाएर दुई कार्यालयबाट भुक्तानी भएको १३ लाख फिर्ता

इकागज |
असोज १९, २०८० शुक्रबार ७:२६ बजे

सुर्खेत- जाजरकोटमा एउटै सडक देखाएर दुई ठाउँबाट भुक्तानी लिने उपभोक्ता समितिले रकम फिर्ता गरेको छ।

भौतिक पूर्वाधार विकास कार्यालयभन्दा नलगाड नगरपालिकाबाट अगाडि भुक्तानी लिइएको पाइए पछि भौतिक पूर्वाधार विकास कार्यालयको रकम फिर्ता गरेको कार्यालय प्रमुख स्वहिन्दर यादवले बताए।


उक्त सडकका डिपिआरसमेत नगरपालिकाले गरेको थियो। गत आर्थिक वर्ष २०७९-०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा एउटै योजनाको दुई कार्यालयबाट दोहोरो भुक्तानी दिइएको कुरा संचारमाध्यामबाट सार्वजनिक भएपछि दोहोरो भुक्तानी लिएको रकम उपभोक्ताले फिर्ता गरेका हो।  पूर्वाधार विकास कार्यालय जाजरकोटबाट लिएको भुक्तानी १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ फिर्ता भएको हो।

जाजरकोट नलगाड नगरपालिका वडा नं  ११ मा पर्ने एउटा सडक निर्माण गरी एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको केही दिनअघि सार्वजनिक भएको थियो। नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको थियो।

नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह, सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौता गरेका थिए।

यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै ३२ लाख बढी रकम भुक्तानी भइसकेको थियो। नलगाड नगरपालिकाको काम अघि नै गरिसकेको छानविनबाट पुष्टि भएपछि पुर्वाधार विकास कार्यालयबाट डुप्लिकेसन भएको तथ्य पत्ता लागेको थियो।

बढी भुक्तानी लिएको ५ प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार ७ सय २२ रुपैया उपभोक्ता समितिले गत मंगलबार पूर्वाधार कार्यालयको खातामा रकम जम्मा गरेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख यादवले बताए।

गत असारमा नलगाड नगरपालिका- ११ स्थित उखाले तल्लु हितानगाउँ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुईवटा कार्यालयबाट भुक्तानी लिएको सार्वजनिक भएको थियो।

अफिसलाई झुक्याएर डुप्लिकेसन गरी रकम भुक्तानी लिने उपभोक्तालाई बोलाएर रकम जम्मा गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिइसकेको रकम फिर्ता गर्न लगाएको यादवले बताए।

ती उपभोक्ता समितिलाई अन्य के कारबाही गर्नेबारे प्रमुख जिल्ला अधिकारीसँग परामर्श भइरहेको उनले बताए।

एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्यतथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, वडाध्यक्ष सहितले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानियाँलाई समेत झुक्याएको ठहर भएको थियो।

गत असारमा मात्र भौतिक पूर्वाधार विकास कार्यालयमा २८ वटा नयाँ योजना आएका थिए। उक्त आयोजना कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सहकार्य नगरी उक्त रकम जाजरकोट पठाएको थियो।

दलनिकट व्यक्तिको प्रभावमा परी जथाभावी उपभोक्ता समितिको नाम समेत टिक्याएर रकम पठाउँदा उक्त समस्या उत्पन्न भएको थियो।


Author

थप समाचार
x