कर्णाली

राष्ट्रपतिदेखि मन्त्रीसम्मको लस्कर पुग्दा पनि राहत नपाएपछि आक्रोशित छन् बारेकोटवासी

इकागज |
कात्तिक २२, २०८० बुधबार ७:२४ बजे

जाजरकोट- राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे ।

सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहतभन्दा अगाडि गाउँ पुगेका हुन् ।


अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षतिप्रति दु:खी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिनेसमेत बताए । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्वसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति रित्तो हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले 'हात्ति आयो , हात्ति आयो फुस्सा' भनेझैँ भएको बताएका छन् । बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्र विन्दु रहेको थियो । केही काम गरौँला भनेर आशा लिएर आएका छौँ, हाम्रो भरोसा मान्नुहोस भन्दै आश्वासनको पोको सुनाएर फेरि राष्ट्रपति पौडेल काठमाडौँ हुँइकिए ।

त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकामस्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए । उनले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । 

जाजरकोट अस्पतालमा बिरामी भेट्‌न गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका-१ कि सितली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन् । उनले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिनसमेत राष्ट्रपतिसँग आग्रह गरेकी थिइन् । भूकम्पका कारण अर्का मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेको नलगाडका वीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउँदै राष्ट्रपतिसँग गुनासो गरे । अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझ्न नसकेको उनले राष्ट्रपतिलाई सुनाए । 

राष्ट्रपति पौडेलले वीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त परे । तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म वीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन् । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्टसमेत हटाएको थियो ।

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हालसम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बताए । १ हजार ३०० कम्मल , ४०० थान म्याटिस  बारेकोट पठाएको उनले बताए ।

त्यस्तै हिजोदेखि कुशे गाउँपालिकामा पनि हवाइ मार्गबाट केही सामग्री पठाएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबार मात्र पठाउने कार्ययोजना रहेको छ । जिल्लास्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन् ।

राहत सामग्री गाडीमा मन्त्री तथा नेताहरू हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । योभन्दा अगाडि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला , स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत , उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहेका छन् । उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन् । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहसमेत जाजरकोटमै रहेका छन् । मन्त्रीदेखि राष्ट्रपतिसम्म जिल्लामा आउने र जाने भीड लागेपनि भूकम्प पीडितसम्म अझैँ राहत सामग्री पुग्न नसक्दा समस्य उत्पन्न भएको छ । 

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले लेखेका छन् , ‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतंक बन्द गर । संविधानले व्यवस्था गरेको स्थानीय विपद व्यवस्थापन समितिको अधिकार मिच्न नखोज ।’ उनले थप लेखेका छन् , 'भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो ।'


Author

थप समाचार
x