कर्णाली

तिहारमा स्थानीय फूलको प्रयोग गर्न पालिकाको आग्रह

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १५:३९ बजे

सुर्खेत- सुर्खेतका केही पालिकाहरूले तिहारमा स्थानीय स्तरमै उत्पादित माला प्रयोग गर्न आग्रह गरेका छन् । पूर्वी सुर्खेतका गुर्भाकोट र भेरीगंगा नगरपालिकाले यस्तो आग्रह गरेका हुन् ।

कर्णाली प्रदेशको प्रवेशद्वारको नगरपालिकाले आयातित प्लाष्टिकका माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । भेरीगंगा नगरपालिकाले सूचना जारी गर्दै नजिकिँदै गरेको भाइटीकाको दिनमा स्थानीय स्तरमै उत्पादित पुष्प खेतीकै माला प्रयोग गर्न आग्रह गरेको हो ।


नगर क्षेत्रमै विभिन्न व्यक्तिहरूले पुष्प खेती गरिरहेको र पर्याप्त मात्रामा फूल उपलब्ध रहेकाले प्लाष्टिकका मालाहरूको प्रयोग नगर्न अनुरोध गरिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार स्थानीय स्तरमै उत्पादित फूलको प्रवर्द्धन गर्न र आयातित मालाहरूको प्रतिबन्ध गर्ने उद्देश्यले सूचना जारी गरिएको हो । छिन्चु, जहरे र रामघाटसहितका ठाउँमा रहेका व्यवसायीहरूलाई कुनै पनि अवस्थामा आयातित प्लाष्टिकका माला नराख्न र स्थानीय उत्पादित फूलहरूको व्यवसायी गरिदिन नगरपालिकाले आग्रह गरेको छ ।

त्यसैगरी गुर्भाकोट नगरपालिकाले पनि सूचना जारी गर्दै स्थानीय उत्पादित फूलको प्रयोग गर्न आग्रह गरेको छ । नगरप्रमुख हस्त पुनले स्थानीय उत्पादित फूलको प्रयोगमा प्रोत्साहन गर्नका लागि सूचना जारी गरिएको जनाए ।


Author

थप समाचार
x