कर्णाली

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउँदै कर्णाली सरकार

इकागज |
कात्तिक २६, २०८० आइतबार १७:११ बजे

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा कर्णाली सरकारले अस्थायी टहरा निर्माण गर्ने भएको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको हो ।

प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने जनाएको छ ।  तिहार लगत्तै अगाडि बढाइने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले बताए ।


केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका लागि आवश्यक काम गर्न जिम्मेवारी समेत प्रदान गरेको थियो । सोही अनुसार भौतिक मन्त्रालयले तयारी थालेको शाहीले बताए ।

जाजरकोट भूकम्पले प्रदेशका ६५ हजारभन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । टहरा निर्माणका लागि ठूलो मात्रामा बजेट आवश्यक पर्ने शाहीले बताए । मन्त्रालयले त्रिपाल र जस्तापातासहित कम्तीमा पनि साढे तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जाजरकोटको छेडागाड नगरपालिकामा १ हजार ९ सय ४५ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार ५ सय ४५ घर आंशिक क्षति भएका छन् । कुल ६ हजार ४ सय ९० घरधुरी विस्थापित भएका छन् ।

बारेकोट गाउँपालिकोटमा १ हजार ३५ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २ हजार २८६ घर आंशिक क्षति बनाएको छ । रिपोर्ट अनुसार ३३ हजार २१ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । भेरी नगरपालिकामा २ हजार ५ सय ३० घर पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार २ सय ३८ घर आंशिक रूपमा क्षति भएका छन् । ६ हजार ७ सय ६८ घरका नागरिकहरू भूकम्पका कारण विस्थापित भएका छन् ।

जुनिचाँदे गाउँपालिकामा ३ हजार ९ सय ७८ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । यो पालिकामा ६३४ घर पूर्ण क्षति भएका छन् भने ३ हजार ३ सय ४४ घर आंशिक रूपमा क्षति भएका छन् ।
कुशे गाउँपालिकामा १ हजार ५ सय ४ घर पूर्ण रूपमा क्षति हुँदा ३ हजार ९८ घर आंशिक क्षति भएका छन् । यहाँका ४ हजार ६ सय २ घरका नागरिकहरू विस्थापित भएका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १ हजार ५ सय ५२ घर भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार ५ सय ७४ घर आंशिक रूपमा क्षति भएका छन् । कुल ६ हजार १ सय २६ घरहरूमा बस्दै आइरहेका नागरिकहरू अहिले विस्थापित भएका छन् । सानीभेरी गाउँपालिकामा ३ हजार ७ सय ४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये १ हजार २ सय ४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्ण रूपमा विस्थापित भएका छन् ।

त्रिवेणी गाउँपालिकामा १ हजार ९ सय ३५ घरधुरी विस्थापित भएका छन् । यहाँ १ हजार ९ सय ३५ घरधुरी पूर्ण रूपमा क्षति भएका छन् भने १ हजार २ सय ५८ घरहरू आंशिक क्षति भएका छन् ।


Author

थप समाचार
x