कर्णाली

कर्णालीमा ७६ हजारलाई कोभिडविरुद्धको खोप लगाइँदै

लक्ष्मी भण्डारी |
साउन ११, २०७८ सोमबार १८:३८ बजे

सुर्खेतस्थित कोभिड अस्पतालमा कोभिडविरुद्ध भेरोसिल लगाउदै स्वास्थ्यकर्मीहरू ।

सुर्खेत - कर्णाली प्रदेशमा आजदेखि कोभिडविरुद्धको खोप अभियान सुरु  भएको छ । अभियानअन्र्तगत कर्णालीका ७६ हजार बढी नागरिकले खोप लगाउन पाउनेछन् । जसका लागि ५९ हजार डोज भेरोसेल र १७ हजार दुई सय डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आजदेखि १० वटै जिल्लाले आफूलाई पायक पर्ने स्थान र समयमा खोप अभियान सञ्चालन गरेका छन् । सुर्खेतका सबै स्थानीय तहले आजैबाट खोप अभियान सुरुवात गरेका छन् भने केही जिल्लामा भोलि(मंगलबार) देखि सुरु हुन लागेको छ ।

स्थलमार्ग हुँदै खोप ढुवानी हुने जिल्लाहरूमा खोप पुगिसकेको छ भने अन्य जिल्लामा पनि पठाउने तयारी भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । ‘स्थलमार्ग हुँदै पठाउने सल्यान दैलेख, रुकुमपश्चिम र जाजरकोटमा आज खोप पुगेको छ’ सूचना अधिकारी चौधरीले भने, ‘हवाइमार्गबाट जाने जिल्लाहरू मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालिकोटमा पनि ढुवानी भइरहेको छ ।’खोप भण्डारणको अवस्था र क्षमता हेरेर खोप पठाइएको उनले बताए ।


भेरोसेल खोप लगाउन उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमतिपत्र वा वडाको सिफारिस) अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । चौधरीका अनुसार विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई पनि यो चरणमा खोप लगाइनेछ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म १ लाख ७ हजार ३ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २८ हजार ८ सय ४८ जनाले कोभिसिल्ड खोपको दोस्रो डोजसमेत लगाइसकेका छन् । उनका अनुसार २२ हजार ५ सय ७० ले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । 
 


Author

थप समाचार
x