कर्णाली

कर्णालीमा चार महिनामा भ्रष्टाचारका तीन सय बढी उजुरी

लक्ष्मी भण्डारी |
मंसिर २४, २०७७ बुधबार १९:४१ बजे

कर्णाली : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालयमा पछिल्लो चार महिनाको अवधिमा तीन सय बढी उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउन यता तीन सय १८ वटा अनियमितताका उजुरीहरु दर्ता भएका र यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर रहेको कार्यालय प्रमुख नारायणप्रसाद रिसालले जानकारी दिए । 

उनका अनुसार अघिल्लो वर्षभरीमा ६ सय ६९ उजुरी दर्ता भएका थिए । ‘अघिल्ला वर्षहरुमा भन्दा चालु आर्थिक वर्षको चार महिनामै धेरै उजुरी दर्ता भएका छन्’ कार्यालय प्रमुख रिसालले भने, ‘स्थानीय तहका धेरै उजुरीहरु देखिएका छन् ।’ कार्यालयमा आएका उजुरीहरूमध्ये आधा उजुरी शिक्षा सम्बन्धी छन् । 


प्रदेशका १० जिल्लामध्ये सुर्खेतबाट बढी र डोल्पाबाट कम उजुरी दर्ता हुने गरेको कार्यालयको तथ्यांक छ । कार्यालयको तथ्यांक अनुसार दर्ता भएका तीन सय १८ उजुरी मध्ये सुर्खेतबाट मात्र एक सय ६१ वटा र डोल्पाबाट ४० वटा दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये ७३ वटा उजुरी फछ्यौट भएका छन् । 

आयोग कर्णाली प्रदेश प्रमुख रिसालले मिलेमत्तोमा हुने गरेका भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्न समस्या भएको बताउँछन् । ‘मिलेमत्तोमा अनियमितता भयो भनेर कार्यालयमा उजुरी आउँछ र उजुरीको आधारमा गएर हेर्दा प्रमाण भेटिदैन’ रिसालले भने, ‘अनियमितताको काम भएकै हुन्छ तर, देखिदैन ।’ 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x