कर्णाली

क्रियाशील सदस्यता विवादले काँग्रेस सुर्खेतको वडा अधिवेशन रोकियो

इकागज |
असोज ६, २०७८ बुधबार ८:१३ बजे

सुर्खेत - सुर्खेतमा नेपाली काँग्रेसको वडा अधिवेशन फेरि रोकिएको छ । दोस्रो चरणमा तोकिएको कांग्रेसको वडा अधिवेशन विवादका कारण फेरि पनि स्थगित भएको हो । पार्टीभित्रका दुई समूहबीचको क्रियाशील सदस्यतासम्बन्धी विवादकै कारण आज तोकिएको  समयमा अधिवेशन हुन नसकेको हो । सुर्खेतमा विशेषगरी अर्को पार्टीबाट कांग्रेसमा आएका व्यक्तिहरूलाई सदस्यता दिने विषयमा कुरा मिलेको छैन ।

अखण्ड नेपाल पार्टीबाट आएको व्यक्तिलाई सदस्यता दिने विषयमा एकलौटी भएको भन्दै सुर्खेतमा नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । यता सभापति शेरबहादुर देउवा पक्षले भने यसबारे केन्द्रमा छानबिन समितिले काम गरिरहेको जानकारी दिएको छ । नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले क्रियाशील सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको बताए । उनले एकलौटी ढंगबाट अघि बढ्न खोजेका कारण विवाद सिर्जना भएको बताए केन्द्रले सदस्यता विवाद टुंग्यार नामावली सार्वजनिक गरेपछि मात्र अधिवेशन हुने रेग्मीले बताए ।


केन्द्रबाट अखण्ड नेपाल पार्टीबाट काँग्रेसमा आएका १ सय ९९ जनालाई क्रियाशील सदस्यता दिने परिपत्र गरेपछि विवाद आएको छ । तहगत रूपमा छलफल गरी समायोजन गर्नु पर्ने माग आफूहरूको भए पनि केन्द्रबाट सुनुवाइ नभएको रेग्मीले बताए । ‘यस विषयमा केन्द्रले विवाद टुंग्याउनुपर्ने हो त्यो अझै भएको छैन’ रेग्मीले भने, ‘हामीहरु छलफलमै बसिरहेका छौ ।’


Author

थप समाचार
x