कर्णाली

कर्णालीमा टुक्रे योजना रोक

१५ लाख मुनिका योजनाबाट ८३ करोड ७८ लाख फिर्ता

लक्ष्मी भण्डारी |
फागुन १७, २०७८ मंगलबार १२:२९ बजे

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीले १५ लाखभन्दा मुनिका टुक्रे योजनाहरू कार्यान्वयनमा रोक लगाएको बताएका छन् । शाहीले जिल्लास्थित कार्यालयहरूमा निकासा भइसकेको १५ लाख मुनिका योजनाहरूबाट ८३ करोड ७८ लाख ८४ हजार रकम फिर्ता आएको जनाए । 

अनुसार प्रदेश सभको दशौं बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भएको सम्झौता अनुसार १५ लाखभन्दा मुनिका टुक्रे योजनाहरूको कार्यान्वयनमा प्रदेश सरकारले रोक लगाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो चार महिने कार्यकालमा भए/गरेका कामबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।


उनले आफ्नो यो कार्यकायलमा र प्रदेश सरकारले अहिलेसम्म गरेका केही उपलब्धीका बारेमा जनकारी गराएका हुन् । शाही मुख्यमन्त्री बनेको सोमबार चार महिना पुगेको छ ।  यो अवधिमा मुख्यतया सुशासन, सेवा प्रवाहमा प्रभाकारिता, अवरुद्ध विकास योजनाको दृढतापूर्वक कार्यान्वयन, कोरोना महामारी रोकथाम तथा नियन्त्रण, प्रदेश राजधानीको भौतिक संरचना सुदृढिकरणलगायतका विषयहरूलाई प्राथमिकतामा राखेर आफू नेतृत्वको सरकारले काम गरेको उनले बताए ।

आफ्नो कार्यकालमा मन्त्रिपरिषदको वैठकलाई व्यवस्थित गरिएको उनले बताए। प्रत्येक हप्ताको बुधबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने, बैठक बस्नु २४ घण्टा अघि प्रस्तावहरू पेश गर्नुपर्ने प्रणालीको विकास गरिएको बताए । आफ्नो कार्यकालमा १३ वटा मन्त्रिपरिषद बैठकबाट ३९ निर्णयहरू भएको र केही निर्णय कार्यान्वयन भईसकेको जानकारी मुख्यमन्त्री शाहीले दिए।

प्रदेशसभा सञ्चालन, आर्थिक अनुशासन एवम् सुशासन र सेवा प्रवाह, पूर्वाधार निर्माणको प्रभावकारी कार्यान्वयन, राजधानी वीरेन्द्रनगरको भौतिक संरचनाहरूको सुदृढिकरण, अधुरा योजनाको अवस्था सुधार एवम् सञ्चालन, आर्थिक समृद्धि एवम् रोजगारी, कर्मचारी व्यवस्थापन एवम् परिचालन जस्ता विषयलाई आफूले प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीले बताए।

यस्तै नियमित अनुगमन, प्रदेश विशेष कार्यक्रम, विपद् व्यस्थापन, राहत तथा उद्दार कार्य, स्वास्थ्य संस्थाहरूको सवलीकरण, आधारभूत स्वास्थ्य सेवा, कोभिड प्रतिकार्य एवम् रोकथाम र खोप, प्रदेश गौरवको योजना कार्यान्वयन हालसम्मका आफू नेतृत्वको सरकारको उपलब्धी भएको उनले बताए।

मुख्यमन्त्री शाहीले तयार पारेको प्रगति प्रतिवेदनअनुसार सडक पूर्वाधार तथा भौतिक संरचनातर्फ पछिल्लो चार महिनामा प्रदेशभित्रको ६.७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । १९४.५ किलोमिटर सडकको नयाँ ट्याक खोलिएको छ भने २३.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । यस्तै २ वटा सडक पुल र १ वटा झोलुङ्गे पुलको निर्माण पनि यो अवधिमा भएका छन्। जनता आवास कार्यक्रममार्फत सात सय ७८ घर निर्माण भएका छन्। यस्तै ‘एक स्थानीय तह एक विद्यालय’ भौतिक संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उर्जा खानेपानी तथा सिँचाईतर्फ ३५१ वटा, भौतिकतर्फ २१३, सर्शत अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १ हजार ५५ योजनाहरू कार्यान्वयनको चरणमा रहेका छन्। यस्तै पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १० वटा जिल्लामा ५५३ वटा कार्यक्रमहरू कार्यान्वयनमा रहेका छन्।

कर्णाली प्रदेशको गौरवको योजनाको रुपमा रहेको प्रदेश रंगशाला निर्माणले गति लिनु प्रदेश सरकारको पछिल्लो उपलब्धीमध्ये एक भएको उनले बताए। उनका अनुसार रंगशालाको प्रदेश सरकारकातर्फबाट नियमित अनुगमन, निरीक्षण र आइपरेका समस्याहरूको समाधान भइरहेको छ ।

‘बहुबर्षीय आयोजनाअन्तर्गत ‘एक निर्वाचन क्षेत्र, न्यूनतम एक बहुवर्षीय योजना’ सुनिश्चित गरिएको छ र  क्षेत्रगत सन्तुलन मिलाई सल्यान, जुम्ला लगायतका जिल्लाको सडक पुल कार्यको बहुवर्षीय आयोजना अगाडि बढाइएको छ’ मुख्यमन्त्री शाहीले भने, ‘स्वास्थ्यतर्फ बन्द रहेका प्रदेशभरका आधारभूत स्वास्थ्य इकाईहरूको पुर्नस्थापना गरिएको छ ।’ प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य कार्यालय दैलेख, जाजरकोट, सल्यान र जुम्लामा तत्काल एम्बुलेन्स खरिदका लागि सम्बन्धित निकायमा बजेट हस्तान्तरण गरिएको उनले बताए । कर्णाली प्रदेशमा खोपको प्रभाकारिता बढ्दै गएको उनले बताए। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण कामहरू भएको दावी मुख्यमन्त्री शाहीले गरे।

हालसम्म कर्णालीमा १८ वर्षमाथिका लक्षित जनसंख्याको पहिलो र दोस्रो मात्रा ६१ प्रतिशतले लगाएका छन् । कर्णालीको कुल जनसंख्याको ५१ प्रतिशत नागरिले पहिलो मात्रा र ४८ प्रतिशत नागरिकले दोस्रो मात्राको खोप लगाईसकेको तथ्याङ्क प्रदेश सरकारसँग छ ।


 


Author

थप समाचार
x